बाणगंगा, मंसिर ०३ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत गरिएको छ। श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समितिले चार नम्बर तौलिहवा सडकखण्डमा निर्माण गरेका चारवटा बुद्ध मूर्तिको अनावरण पूर्वसंविधान सभा सदस्य अत्तहर कमाल मुसलमानले गरेका हुन्।
मुस्लिम समुदायका व्यक्तिले बौद्ध धर्मका प्रतीक बुद्ध मूर्तिको अनावरण गर्दा धार्मिक सहिष्णुता र एकताको झल्को दिएको यो घटना सहभागीहरूले विशेष महत्वका साथ लिएका छन्। कार्यक्रममा सरोकारवालाहरूले यसलाई विश्वमै दुर्लभ धार्मिक एकताको सन्देश मान्दै प्रशंसा व्यक्त गरे।
समाजसेवी राजेन्द्र बीक्रम शाहले यो अभ्यासले धार्मिक भेदभावलाई हटाउँदै मानव कल्याण र शान्तिको सन्देश दिएको उल्लेख गरे। मुसलमान नेता अत्तहर कमालले धर्मको सार समान रहेको र न्याय, समानता, र शान्तिमा आधारित रहेको बताए। उनले बाणगंगामा प्राप्त सम्मानप्रति खुशी व्यक्त गर्दै यस्तो सहिष्णुताले समाजमा नयाँ दिशा दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा श्रृङ्गीघाट वनका अध्यक्ष शुशिल सिंह ठकुरीले मूर्तिसँगै तौलिहवा सडकको सौन्दर्यीकरण गरिएको जानकारी दिए। वनले बौद्ध धर्मावलम्बी र पर्यटकको आवागमन बढाउन यो कार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ।
कार्यक्रम सचिव सुष्मा खाँणको सञ्चालनमा सम्पन्न भएको थियो। कोलकत्ताबाट साइकलयात्रामा आएका अजय विश्वासलाई सम्मान गरिएको कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो।