ऐतिहासिक महत्वको प्रवेशद्वारः पशुपतिनाथ मन्दिरको झल्को


पालिका पत्र

१८ मंसिर २०८१, मंगलवार २१:२० मा प्रकाशित

कपिलवस्तु, १८ मंसिर।
१५औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ। बुधबार उद्घाटन हुने महोत्सवको मुख्य प्रवेशद्वार विशेष आकर्षणका रूपमा निर्माण गरिएको छ। कपिलवस्तु उद्योग वाणिज्य संघका मंच तथा सचिवालय व्यवस्थापन समितिका संयोजक इन्द्र पोखरेलले यसपटकको गेट ऐतिहासिक महत्वको र अहिलेसम्मकै ठूलो तथा आकर्षक भएको जानकारी दिए।

संयोजक पोखरेलका अनुसार, पशुपतिनाथ मन्दिरको आकृतिमा डिजाइन गरिएको ८.३० फीट अग्लो प्रवेशद्वार निर्माण गरिएको छ, जसमा गजुर र शिवजीको डिजिटल मूर्ति पनि सजाइएको छ। यसपटक सचिवालय र मंच व्यवस्थापनमा पनि नयाँपन अपनाइएको छ। विगतका महोत्सवमा जस्तै यस वर्ष पनि भिन्न अवधारणाका साथ तयारी गरिएको पोखरेलले बताए।

संघका पूर्व अध्यक्ष उमानाथ पौडेल र विष्णु प्रसाद न्यौपानेले महोत्सवको तयारीको प्रशंसा गर्दै प्रवेशद्वारलाई विशेष र नौलो ठहर गरेका छन्।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने नाराका साथ मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बुद्ध रंगशालामा महोत्सव आयोजना हुनेछ। उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्