कपिलवस्तु, २१ मंसिर ।
मायादेवी साझेदारी वन उपभोक्ता समूह पटनाको १२औं वार्षिक साधारण सभा बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मधुसुधन शरण चौधरीले किसानका समस्या समाधानमा सरकार असफल रहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले नेपाललाई कृषि प्रधान देश भनिए पनि मलखाद अभावजस्ता समस्याले किसान निराश भएको बताए। किसान आन्दोलनकै माध्यमबाट सरकार जाग्न सक्ने उनको भनाइ थियो। साथै, उनले वन अतिक्रमण रोक्दै वृक्षरोपणमार्फत वन संरक्षणमा लाग्नुपर्नेमा जोड दिए।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले वन अतिक्रमण रोक्न मुख्य चुनौती रहेको बताए। वास्तविक सुकुम्बासी व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिंदै नक्कली सुकुम्बासीको समस्याले समाधान प्रक्रिया अवरोध गरेको बताए।
बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले वन अतिक्रमण रोक्ने काममा मायादेवी साझेदारी वनले उदाहरणीय भूमिका खेलेको भन्दै प्रशंसा गरिन्। उनले वातावरण प्रदूषण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै एकतावद्ध भएर वन संरक्षणमा लाग्नुपर्ने बताइन्।
वनका अध्यक्ष दिनेश प्रसाद जयसवालले वन संरक्षण, सम्बर्द्धन, र समाज रुपान्तरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको बताउँदै दिगो व्यवस्थापनका लागि निरन्तर प्रयास गरिने प्रतिवद्धता जनाए। उनले सात करोड ४४ लाख ५५ हजार बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरे।
कार्यक्रममा वन संरक्षण र अतिक्रमण रोक्न योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरियो। गोविन्द प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले मायादेवी साझेदारी वनको प्रयासलाई अन्य वन समूहका लागि प्रेरणादायी रहेको बताए।