बाणगंगा नदी आसपासका बस्तीमा प्रहरीद्वारा बाढी सतर्कता सचेतना अभियान


पालिका पत्र

12 July, 2026 7:41 pm मा प्रकाशित

कपिलवस्तु, २८ असार ।

मनसुन सक्रिय भएसँगै बाढीको जोखिम बढ्न थालेपछि कपिलवस्तुको बाणगंगा नगरपालिका–८ अन्तर्गत बाणगंगा नदी आसपासका बस्तीमा प्रहरीले सतर्कता सचेतना अभियान सञ्चालन गरेको छ।

आइतबार इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षक ९प्र।ना।नि।० रोहित विश्वकर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले मधुबन, मधुबन सुकुम्बासी, बोर्डगाउँ, बालापुर तथा सिसेनीलगायत नदी किनारका बस्तीमा पुगेर माइकिङमार्फत नागरिकलाई बाढीसम्बन्धी सचेतना गराएको हो।

केही दिनयता मनसुन सक्रिय रहेकाले बाणगंगा नदीमा अचानक पानीको बहाव बढ्न सक्ने र बाढी आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्था निरन्तर निगरानी गर्न, अनावश्यक रूपमा नदी तर्न वा नदी किनारमा नजान तथा कुनै पनि आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।

इलाका प्रहरी कार्यालय पिपराले मनसुन अवधिभर सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्