निःशुल्क आँखा शिविरबाट नौ सय ५० जना लाभान्वित


पालिका पत्र

२१ मंसिर २०८१, शुक्रबार १०:५१ मा प्रकाशित

मंसिर २१ । कपिलवस्तुको कुदानमा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरबाट नौसय ५० जनाले निःशुल्क सेवा लिएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर २ थाइमन्दिर कुदानमा बिहीबार शिविर सञ्चालन भएको थियो ।

निःशुल्क आँखा शिविरमा ९५० मध्ये १८० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने आयोजक संयोजक राजेश ज्ञवालीले बताए ।

शिविरमा आँखा उपचार गराउन कपिलवस्तु नगरपालिकासँगै छिमेकी पालिका यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका, महाराजगंज नगपालिका लगायतका सेवाग्राही कुदान आएका थिए ।

आँखाको समस्या भएका नागरिकको सहजताका लागि रोयल थाइ मोनाष्ट्री लुम्बिनी, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, स्वर्णभूमि फाउण्डेसन तथा वाटथाइ निग्रोधराम र नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोगमा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।

तिलगंगा आँखा प्रतिष्ठानका डाक्टर रूपा लुइटेलको नेतृत्वमा आँखा जाँच सम्पन्न गरिएको बताइएको छ । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पताल सम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु मोतियाबिन्दुको प्रमुख कारण रहेका डा. लुइटेल बताउँछिन्।

बरिष्ठ समाजसेवी ज्ञवालीको नेतृत्वमा बर्षेनी निशुल्क आँखा शिविर संचालन हुँदै आएको छ । जस्बाट हजारौंले निशुल्क सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्