अवैध यौन धन्दामा प्रहरीले कस्दैन फन्दा !


पालिका पत्र

२२ पुष २०८१, सोमबार ०८:२४ मा प्रकाशित

कपिलवस्तु, मंसिर २२ । कपिलवस्तुको पकडी र लबनीमा रहेका होटल तथा रेष्टुरेन्टहरुमा युवतीहरु राखेर अवैध यौन व्यवसाय संचालन गर्ने गरेको गुनासो बढेको छ । पकडी बजार स्थित फ्युजन होटल, कपिलवस्तु रेष्टुरेन्ट, लबनी स्थित प्लस प्वाइन्ट होटल, न्यू आरआरजे रेष्टुरेन्टले युवतीहरु राखेर यौन धन्दा चलाउदै आएको स्थानीयबासीहरु बताउँछन् ।

स्थानीयका अनुसार अलिगढवा, चाकरचौडा, कक्रहवा क्षेत्रका भारतीयहरु तथा लुम्बिनी क्षेत्रमा आउने पर्यटक र स्थानीय युवाहरुलाई लक्षित गर्दै होटलहरुमा खुलेआम युवतीहरु राखेर अवैध क्रियाकलापहरु संचालन हुदै आएको छ । करिब १ बर्ष देखि छुटपुट रुपमा चल्दै आएपनि अहिले भने खुलेआम युवती देखाएरै मोलमोलाई हुने गरेको सर्वसाधारण बताउँछन् ।

प्रहरी संगको घनिष्ठता : अवैध यौनजन्य व्यवसाय संचालन गरेको आरोप लागेका होटल संचालक र प्रहरी अधिकारी बिचको सम्बन्ध निकै घनिष्ठ हुनुले पनि यसलाई नियन्त्रण गर्न नसिकएको स्थानिय जनप्रतिनिधीकै गुनासो छ । “ईलाका प्रहरी कार्यालयकै अगाडी खुलेआम यौन व्यवसाय चल्दै गर्दा के प्रहरीलाई थाहा नहोला त ?” एक जनप्रतिनिधीले प्रश्न गरे ।

पकडी प्रहरी श्रोतकै अनुसार पनि इन्सपेक्टर कमल क्षेत्री र फ्यूजन होटल, आरआरजे रेष्टुरेन्ट संचालक दिपु कलवार र प्लस प्वाइन्ट संचालक दुर्गेश कलवार बिच घनिष्ठ सम्बन्ध छ । शनिबार ग्राहक बनेर गएका स्थानीय पत्रकारको टिमलाई युवती अनुसार २ हजार देखि ३ हजार रुपैया लाग्ने र प्रहरी संग सेटिङ्ग भएकाले कुनै समस्या नहुने आरआरजे रेष्टुरेन्ट संचालक दिपु कलवारले दाबी समेत गरेका थिए ।

प्रहरीको छापामा प्रहरी नै सुराकी : स्थानीयबासीहरुको गुनासो पश्चात जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आइतबार दिउसो लबनी तथा पकडी स्थित चारवटै होटलमा छापा हानेको छ । तर छापा हान्न प्रहरीको टोली जिल्लाबाट आउदै छ भन्ने जानकारी होटल संचालकलाई २० मिनेट अघि नै स्थानीय प्रहरीद्धारा गरिएको थियो ।

श्रोतका अनुसार आरआरजे होटल संचालक दिपु कलवारलाई लबनीमा रहेका प्रहरी सहायक हवल्दार इन्द्रनाथ धवलले ९८१६४१२८७८ नम्बरबाट फोन गरि जिल्लाबाट छापा हान्न टोली आउदै छ भनेर जानकारी गराएका थिए । लगत्तै सबै होटलहरुमा फोन गएको थियो र युवतीहरु होटलबाट भागेर अन्यत्र गएका थिए । त्यसपछि बल्ल जिल्लाको टोली छापा हान्न पुगेको थियो ।

जिल्लाद्धारा छानबिन : अवैध यौनधन्दा संचालन गरिएको भन्दै मौखिक गुनासो आएपछि जिल्लाले आइतबार पकडी तथा लबनीमा रहेका रेष्टुरेन्ट तथा होटलहरुमा छापा हानेको थियो । दिउसो करिब ४ बजे हानेको छापामा प्रहरीले सोचेजस्तो वा गुनासो आए जस्तो अवस्था नभएपनि शंकास्पद ६ जना युवा तथा २ जना होटल संचालकलाई टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले सूचना चुहावट भएको आशंका व्यक्त गरेका छन् । “हामी अनुसन्धानमै छौ, केहिलाई नियन्त्रणमा लिएका छौ” डिएसपी अधिकारीले भने ।

आवश्यक प्रमाणहरु संस्थासँग सुरक्षित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्