बुद्धभूमिमा ११ हजार १ सय ११ मा नौ ग्रह शान्ति !


पालिका पत्र

१२ माघ २०८१, शनिबार २१:१२ मा प्रकाशित

बाणगङ्गा, माघ १२ । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ११ हजार १ सय ११ मा नौ ग्रह शान्ति हुने भएको छ ।  बुद्धभूमि  वडा न. १ मा हुन लागेको नवग्रह अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञान यज्ञमा यस्तो हुने भएको हो ।  श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र विरपुरको आयोजनामा हुने ज्ञान यज्ञ नौ दिनसम्म चल्ने छ ।

माघ २१ गते देखी सुरुहुने ज्ञान यज्ञको काम ७० प्रतिशत सकिएको आयोजकले जनाएको छ । ज्ञान यज्ञबारे जानकारी दिन राखिएको पत्रकार सम्मेलनमा बोल्दै शनिदेव मन्दिरका परिकल्पनाकार तथा मठाधिस बाबा योगीराजले नेपालमै ९ वटा ग्रहको अलगअलग मन्दिर भएको एक मात्र मन्दिर विरपुरको शनिदेव मन्दिर भएको दाबी गरे ।

यज्ञमा ९ वटै ग्रहको ग्रह शान्ति गरिने भन्दै यसका लागि ११ हजार एक सय ११ रुपैयाँ शुल्क तोकिएको छ । अन्यथा यज्ञमा कसैबाट पनि शुल्क नलिने बताए । माघ २१ गते महासङ्कल्प पछि ९ दिनसम्मनै पण्डितले अनुष्ठानको कार्य गर्ने बताए । महासङ्कल्प अर्थात ग्रहशान्ति लागि अहिलेसम्मै ३ सय ५० बढीले रसिद काटिसकेको भन्दै माघ २१ पछि आउने कुनैपनि रसिद नकाटिने स्पष्ट पारे ।

महासङ्कल्पका लागि बिहान र बेलुका २७ जना पण्डितद्वारा विधिपूर्वक जप एवम् हवन गरिनेछ । ज्ञान यज्ञमा १ क्विन्टल गाईको घ्यू बाट वैज्ञानिक तरिकाले हवन गरिने भएकाले भारतको गौशालाबाट घ्यू ल्याइने बताए । सोही मात्रामा नेपालमा शुद्ध गाईको घ्यू उपलब्ध नभएकाले भारतबाट ल्याउन लागिएको बताए । यज्ञमा निस्वार्थ भावले स्थानीय एवम् नेपाली सेनाले श्रमदान गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर थापा (तिलक)ले यज्ञमा उपस्थित भइ कथा श्रवण गर्न सबैमा आग्रह गरे । निस्वार्थ भावले आयोजना गरिएको यज्ञबाट यस क्षेत्रको प्रचारप्रसार हुनेभन्दै यज्ञलाई सफल पार्न सबैमा आग्रह गरे । यज्ञको नाममा एक रुपैयाँ पनि अनियमितता नहुने भन्दै कसैले त्यसो गरेमा आफूलाई खबर गर्न आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बोल्दै महायज्ञको नाममा विभिन्न ठाँउमा आर्थिक अनियमितता भएको भन्दै पवित्र यस यज्ञमा त्यसो नहुनेमा आफुढुक्क रहेको बताए । साथै यज्ञको प्रचारप्रसारको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

ज्ञान यज्ञ माघ २१ गते बिहान ९ः ४५ मा प्रारम्भ हुने छ भने १०ः ०५ मा झण्डा स्थापना गरिने छ । यसैगरी बिहान १०ः २४ मा सूर्य मन्दिर शिलान्यास गरिने कार्यक्रम रहेको छ । यसैगरी महासङ्कल्प तथा हवन कार्यक्रम १०ः ४० बाट सुरु हुनेछ । राति ८ बजेदेखि १० बजेसम्म भजनकीर्तन कार्यक्रम हुने आयोजकले जनाएको छ ।


यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य श्री विष्णु प्रसाद ज्ञवालीज्यूको मुखारविन्दबाट श्रीमद्भागवत तथा कथा प्रवचन हुनेछ । ज्ञान यज्ञ माघ २९ गते समापन हुने छ । यज्ञ सम्पादन मूल समिती संयोजक इश्वरी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रविलाल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्