विजयनगरलाई उच्च प्राथमिकतामा राख्न अध्यक्ष थापाको आग्रह


पालिका पत्र

१४ माघ २०८१, सोमबार २१:१८ मा प्रकाशित

बाणगंगा, १४ माघ । कपिलवस्तु भूमि आयोगका अध्यक्ष झविलाल पोखरेललाई विजयनगर गाउँपालिकाले विशेष कार्यक्रम आयोजना गरेर स्वागत तथा सम्मान गरेको छ । सोमबार पालिका अध्यक्ष गोपाल बहादुर थापाको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष पोखरेललाई सम्मान गरियो ।

कार्यक्रमका क्रममा अध्यक्ष थापाले विजयनगरलाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । उनले विजयनगरको समस्यालाई विशिष्ट दृष्टिकोणले हेर्नुपर्ने र जिल्लामा यसको छुट्टै पहिचान स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष पोखरेलको सक्रियताका कारण कपिलवस्तुमा अन्य जिल्लाको तुलनामा छिटो र प्रभावकारी रूपमा काम सम्पन्न हुने विश्वास उनले व्यक्त गरे ।

भूमि सम्बन्धी विषयले आमजनतामा गहिरो चासो उत्पन्न गरेको तर त्यसलाई व्यक्त गर्न नसकिएको कुरा उल्लेख गर्दै अध्यक्ष पोखरेलले विजयनगरमा भूमि सम्बन्धी एक चरणको काम पूरा भएको जानकारी दिए । उनले थप सूचना आएमा तदनुसार कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पोखरेलले भूमिहीन सुकुम्बासी र दलितहरूलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे । उनले भूमि समस्या जटिल भए पनि आयोगले सरलदेखि जटिलतासम्मका सिद्धान्तलाई अवलम्बन गरेर समाधान गर्ने योजना सुनाए ।

साथै, उनले वास्तविक भूमिहीन व्यक्तिहरूलाई वडा र पालिकाले सिफारिस नगरेको खण्डमा आयोगले आफैं प्रक्रिया अघि बढाएर समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्