
जितपुर, २१ माघ । संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा बिकले श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित वन क्षेत्रको अवलोकन गरेकी छिन् । शनिवार उनले जिल्ला आएको मैका मिलाएर बनको अवलोकन गरेकी हुन् । अवलोकनका क्रममा समूहका अध्यक्ष ठकुरीले वनको भावी योजनाबारे जानकारी गराउँदै डढेलो नियन्त्रणका लागि बाणगंगा नदीको पानी प्रयोग गरी ट्याक्की निर्माण तथा पाइपलाइन विस्तार योजनामा सहयोग गर्न आग्रह गरे ।
राज्यमन्त्री बिकले वन स्रोतको संरक्षण तथा दिगो व्यवस्थापन प्राथमिकता रहेको बताउँदै संघीय सरकारको सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले श्रृङ्गीघाट सामुदायिक वन अनुसन्धान, संरक्षण, तथा व्यवस्थापनका लागि महत्त्वपूर्ण क्षेत्र भएको बताइन् ।
निरीक्षणकै क्रममा मन्त्री बिकले बाणगंगा नदी कटान क्षेत्रको पनि अवलोकन गरिन् । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बालाकुण्ठ धामको दर्शन गर्दै उनले समुदायको सक्रिय सहभागिताले मात्रै वन संरक्षण सम्भव हुने बताइन् ।
सामुदायिक वनकी सचिव कमला सेनले वन व्यवस्थापनमा स्थानीय समुदायको भूमिकालाई महत्वपूर्ण ठहराउँदै सही मार्गदर्शनद्वारा वातावरण संरक्षणसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरिन् । लेखा संयोजक गुरुदेव पौडेलले वन स्रोतको पारदर्शी व्यवस्थापन आवश्यक रहेको बताउँदै सामुदायिक सहभागिताको महत्त्व औंल्याए ।
वि.सं. २०६६ मा स्थापित ५७० हेक्टरमा फैलिएको श्रृङ्गीघाट सामुदायिक वनले हाल २०३२ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याइरहेको छ । बाणगंगा नगरपालिकाका विभिन्न वडामा फैलिएको यस वनले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै गरिबी न्यूनीकरणमा सघाउँदै आएको छ ।