वाणगङ्गा, २३ माघ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले नियम विपरित सबारीसाधन सञ्चालन गर्नेहरूलाई कारबाहीलाई तीव्रता दिएको छ । यात्रु क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडीमा सिट थप्ने, तथा नियम विपरित निजी सवारी प्रयोग गर्ने गुनासो बढेपछि ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच थालेको हो ।
बुटवल आसपासका क्षेत्रमा गरिएको चेकजाँचका क्रममा ३१७ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। मोडिफाइड मोटरसाइकल, रातो नम्बर प्लेट भएका निजी गाडी, र सिट क्षमता बढाएर यात्रु बोक्ने गाडीहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए।
छड्के चेकजाँचका क्रममा नियम विपरित यात्रु बोक्ने, गलत नम्बर प्लेट राखेर चलाइएका गाडीहरू फेला परेका छन्, जसले दुर्घटनाको जोखिमसमेत बढाएको प्रहरी प्रमुख खत्रीले बताए। नियम उल्लङ्घन गर्ने मोटरसाइकललाई १० हजार रुपैयाँ, नम्बर गलत राखेर चलाइएका गाडीलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
सिट थपेर यात्रु बोक्ने गाडीहरूलाई पुनः व्यवस्थित गर्न तथा मोडिफाइड मोटरसाइकलहरूलाई दुरुस्त बनाएर मात्र छोड्ने नीति अपनाइएको छ। ट्राफिक प्रहरीले आगामी दिनमा अझै कडाइ गर्ने चेतावनी दिएको छ।