
टेकराज पन्थी ।
अर्थतन्त्रमा पारेको असरलाई वैकल्पिक बाटोबाट माथि उकास्नु पर्ने जरूरी छ । अर्थतन्त्रको बलियो आधार पर्यटन हो । विश्वका हरेक देशका भौगोलिक बनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नो प्रकारका नै हुन्छन् । एक देशको विभिन्न अवस्थासँग अर्को देशको समानता पाइँदैन । यस्तै प्रकारको आफ्नो विशिष्ट खालको पहिचान र अवस्था भएको रमाइलो देश हो नेपाल । नेपाल यस्तो मुलुक हो, जहाँ विश्वका जुनसुकै मुलुकबाट आएका पर्यटक एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरुबाट प्रशंसनीय र सकारात्मक प्रतिक्रिया व्यक्त भएको पाइन्छ । उनीहरुले भनिरहेका हुन्छन्, म फेरि फर्केर आउँछु । त्यसपछि उनीहरु साथी भाइहरु सहित पुनः नेपाल घुम्न आइरहेको पाइन्छ ।
नेपालको भौगोलिक बनोटले पनि पर्यटकलाई विभिन्न खालको अनुभवहरु पस्किन सफल भएकोछ । उच्च हिमाल, जहाँ हिमाल आरोहण गर्ने पर्यटकलाई अवसर प्रदान भएकोछ । अनि पदमार्गमा भ्रमण गर्न चाहने पर्यटकलाई मनमोहक हिमाली दृश्य, नेपालीको आतिथ्यताले लोभ्याएको छ । वन्यजन्तु अवलोकन गर्ने, सांस्कृति मनोरञ्जन समेत प्राप्त गर्ने भित्री मधेशले पर्यटकलाई मख्ख बनाएको छ । समथर भूभागको भ्रमण, फरक भाषा संस्कृतिलाई नजिकबाट अनुभव गर्न चाहने पर्यटकहरूलाई नेपालको तराईको भूभागले उक्त अवसर दिन सकेको छ । त्यसैले एउटा देशको भ्रमणबाट पर्यटकको आफ्नो रुचि अनुसारको भ्रमण गरी फरक खालको अनुभव बटुल्न सम्भव छ । त्यसैले होला विश्वमा नेपाल पर्यटकीय गन्तव्य मुलुकको सूचिमा अग्रस्थानमा रहन सफल भएको पाईन्छ ।
अब नेपाललाई आर्थिक दृष्टिकोणले विकास गर्न सकिने प्रमुख तीन क्षेत्र हुन् । कृषि, पर्यटक र जलविद्युत योजना नै महत्वपूर्ण क्षेत्र हुन् । यस मध्ये पर्यटन क्षेत्रको विकास र विस्तारबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा दिन सकिने विषयमा कुनै शंका छैन । देशको अर्थतन्त्रलाई विकास गर्ने ठाउँ सुहाउँदो योजनालाई अघि बढाउन सक्ने हो भने जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सम्भव रहन्छ ।
मुलुकको अर्थतन्त्रलाई मध्यनजर राखी आर्थिक विकास गर्ने बारे योजना बनाउँदा कसरी रोजागारीको सिर्जना गर्न सकिन्छ भन्ने विषयलाई नै प्राथमिकता दिन जरुरी छ । वर्तमान अवस्थामा रोजगारीको अवसर आफ्नै देशमा नभएको कारण धेरै युवाहरू विदेशीने बाध्यात्मक अवस्था विद्यमान छ । प्रतिदिन देशबाट रोजागारीको निमित्त विभिन्न मुलुकमा युवाहरू बाहिरी रहेका छन् । आफ्नो मुलुक भने दिन प्रतिदिन उजाड बन्दैछ । ग्रामिण वस्तीहरु युवाविहिन बन्दैछन् । यसकारण ग्रामिण क्षेत्रमा भएको जग्गा जमिनको प्रयोग र बसोवासको अवस्था दयनीय बनेको छ । युवा पलायन भएका छन् भने उनीहरुमा आश्रित परिवार पनि केटाकेटीको शिक्षा, स्वास्थ्य सुविधा र पालनपोषणको लागि शहरतिर आकर्षित बन्दैछन् । आफ्नो गाउँ वस्तीलाई गुलजार गर्नुको सट्टा शहरतिर लर्कन लाग्ने अवस्था बढ्दै गइरहेको छ । एकातर्फ ग्रामिण वस्तीहरु उजाड बन्दै जानु, अर्कोतर्फ शहरमा जनसंख्याका बृद्धिले विभिन्न किसिमका महामारी लगायत अन्य कारणबाट शहरीया जीवन कष्टकर बन्दै जाने स्थिति देखा परेकोछ ।
यो चुनौतिपूर्ण परिवेश हो । यसको समाधान भनेको ग्रामिण वस्तीहरुमा रोजागारीको सृजना गरी युवा जनशक्तिलाई गाउँमा नै रोक्न सक्नुपर्छ । रोजगारी सृजना गर्ने खालको वातावारण तयार गर्न हाम्रो मुलुकलाई प्रकृतिले सघाएको छ । यसको अभाव भनेको पर्यटन कार्यक्रम र लगानीको कमी हो ।
पर्यटनबाट रोजगारीको अवसर सृजना गर्ने सम्भावनालाई चर्चा गर्दा विभिन्न खालका कार्यक्रमलाई अघी बढाउन सकिन्छ । नेपालको प्राकृतिक, साँस्कृतिक, धार्मिक अवस्थाका कारणले भ्रमण गर्न आएका पर्यटकलाई वसोबासको लागि निर्मित तारे होटल देखि सामान्य होटल गेष्ट हाउसको लागि आवश्यक जनशक्तिलाई आगन्तुक प्रति गरिने स्तरीय व्यवहारको लागि तालिम दिनु पर्दछ । परिस्कृत जनशक्ति, आधुनिक सेवा सुविधा उपलब्ध गराउने मौका प्रदान गरी पर्यटक लोभ्याउने प्रशस्त सम्भावनाहरू छन् । सफा, स्वच्छ स्थान र स्तरीय व्यवहार देखि सबै पर्यटक खुसी हुन्छन् । होटल ब्यवसायीले पनि सफा, व्यवस्थित, सुरक्षित, सुविधाजनक, पर्यटक लोभ्याउने प्रकारको ब्यवस्थापन गर्न जरूरी छ ।
हामीले अवलम्बन गरेको परम्परागत शैली भन्दा आधुनिक शैली अप्नाउनु आवश्यक छ । तालिम र सोचाइका माध्यमबाट परिवर्तन हुन आवश्यक छ । विदेशी पर्यटकहरु नेपाली परिवारसँग संगै वस्न, संगै खान र उनिहरुको दिनचर्यालाई नजिक वाट अनुभव गर्न रुचाउने खालका हुन्छन् । यस्ता अवसर होम स्टे कार्यक्रमबाट प्रदान गर्न सम्भावना हुन्छ । पछिल्ला दिनहरुमा यस्ता कार्यक्रमहरु लोकप्रीय बन्दै गइरहेका छन । यसको प्रचार प्रसार गर्न सकियो भने ग्रामीण वस्तीमा धेरै सकरात्मक प्रभाव पार्न सफल हुनेछ ।
पर्यटन उद्योगलाई अघि वढाउन पर्यटन शिक्षासँग जोडेर अघि बढाउन पर्दछ । होटल व्यवस्थापन कक्षाहरुका अलवा पथ प्रदर्शकको तालिम र व्यवहारिक रुपमा यसको कार्यान्वयन तिर ध्यान जानु आवश्यक छ । खाना तयार गर्ने, स्तरीय सेवा दिने र मिठो बोल्ने आदि सेवाग्राहीको लागि ध्यान दिनुपर्ने विषय पनि हो । यसमा परिस्कृत व्यवहार पर्यटक प्रति देखाउनु पर्दछ ।
स्वदेशी वा विदेशी पर्यटकहरु केवल घुम्न मात्र आएका हुदैनन् । यस ठाँउवाट उत्पादित वस्तुहरु चिनोको रुपमा लैजान सवैको चाहना हुन्छ । यसको लागि उपहारका सामाग्री उपलब्ध गराउनको लागि घरेलु उद्योग स्थापना गरी उपहारको लागि आकर्षक वस्तुहरु उत्पादन गरेर पर्यटकलाई सामाग्रीहरू विक्रि गर्न सकिन्छ । जसले गर्दा उद्यमशील महिला र युवाहरुलाई समेत सुनौलो मौका प्राप्त हुनेछ ।
नेपाल भित्र रहेका प्राकृतिक मनमोहक दृश्य मात्र होइन मानव निर्मित सम्पदाले पर्यटकलाई मनमोहक बनाएको छ । पुर्खाले निर्माण गरेको साँस्कृतिक धरोहर बाहेक आधुनिक शैलीका कला, मठमन्दिर निर्माण गर्न सकियो भने विदेशी पर्यटकलाई मात्र होइन आन्तरिक पर्यटकलाई समेत लोभ्याएर पर्यटनका माध्यमबाट आर्थिक उपार्जन गर्न सकिन्छ । पर्यटन उद्योगको चुरो वस्तु भनेको प्रचार प्रसार नै हो । सामान्य विषयलाई पनि यसको महत्व बुझाउन र चिनाउन सकियो भने देश भित्र र बाहिरबाट पर्यटकहरू ठाउ हेर्न र घुम्न आउनेको संख्यामा अत्यधिक बृद्धि हुन्छ ।
प्रचार प्रसारको आधुनिक प्रचार सामाग्री र नयाँ प्रविधिले सरल र सहज बनाएको छ । अर्को तर्फ कडा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था भने दिन प्रतिदिन बढिरहेको छ । कडा प्रतिस्पर्धाको बावजुत पनि भ्रमणको प्याकेज तयार गरी विभिन्न शैलीले पर्यटकलाई आकर्षण गर्न सकिन्छ । नेपालीमा उखान छ बोल्नेको पिठो पनि बिक्दछ नबोल्नेको चामल पनि विक्रि हुदैन । त्यसैले सुनाउ बुझाउ अनि आगन्तुकलाई आकर्षण गरौँ ।
सम्झनाका अनगिन्ति चाँङ हुदा हुदै पनि व्यवहारिक कारणबाट सफल हुन नसक्नुमा वातावरणले भुमिका निर्वाह गर्दछ । यदि मुलुकमा अनुकुल वातावरण भएन भने केहि गर्न सक्ने अवस्थामा नै रहदैन । नेपालमा यहाँको राजनितिक अवस्था, राजनीतिक खिचातानी, वन्द हड्ताल, तालावन्दी, नाकावन्दी, सिल यस्तै यस्तै वातावरणले प्रशस्त पर्यटन विकासको सम्भावनालाई खुम्चाएर शून्य बनाउदै लगेको छ ।
आशा गरौ पर्यटन सम्बन्धि समस्या सुल्झाउन र पर्यटन विकासका लागि सरकारले विभिन्न कानुन तथा नीतिहरू परिमार्जन गर्दैछ । युगौ देखिको नेपाली जनताले चाहेको आफ्नो देशको संबिधान जनताको प्रतिनिधिले बनाउने चाहना पुरा भै संविधान कार्यान्वयनमा रहेको छ । संघियता कार्यान्वयन भएकै छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तथा निर्वाचित जनप्रतिनिधिहरू सकृय भै विकासमा लागेको अवस्था छ । पर्यटनलाई व्यवस्थित गर्न तिन तहका सरकारले कानुन र कार्यविधि बनाई बजेटको सुनिश्चितता गर्ने प्रयास भएका छन् । यसको सफल कार्यान्वन गरी मुलुकले आर्थिक सम्वृद्धिको एजेन्डालाई अघि वढाउने छ । पर्यटन क्षेत्रको विकासका सम्भावनालाई अगालेर देशको आर्थिक विकासको मेरुदण्ड नै पर्यटक र पर्यटन व्यवसाय हुने छ । नेपाल र नेपालीको लागि राजनीति गर्ने नेताहरुले छातिमा हात राखेर वाचा गरि व्यक्तिगत स्वार्थवाट अलग्गिएर मुलुकको आर्थिक विकासको लागि अघि वढाउने छन् । यदि यस तर्फ केहि सोचियन भने मुलुक ढुङ्गे युगतिर फर्कने अवस्था हुनेछ ।
देशको आर्थिक अवस्था सन्तोषजनक नदेखिएकोले ढुक्क भएर पर्यटन विकास अगाडि बढाउन अप्ठेरो देखिन्छ । बैंकहरूले पनि पर्यटन ब्यवसायमा ढुक्क भएर लगानी गर्न सकेको अवस्था छैन । तिन तहका सरकारले पर्यटन ब्यवसाय सञ्चालन गर्न स्थापना हुने उद्धोग, पर्यटन सम्बन्धि तालीम, होटलहरू सञ्चालन गर्नलाई पनि विशेष सुविधा उपलब्ध गराउनु पर्नेमा प्रकृयागत झन्झट तेर्साउने कानुनहरू रहेका छन् । यस्ता बाधक र प्रकृयागत झन्झटलाई समयमा सरकारले सरलीकरण गर्न सक्नु पर्दछ र लगानी मैत्री वातावरण बनाउनु पर्दछ ।
सरकारले गरिदिन्छ कि भनेर अब ब्यवसायीहरू पर्खने होईन । ब्यवसायीहरूले पनि आन्तरिक र बाह्य पर्यटकहरूलाई ब्यवस्थित र सूरक्षित तवरले आकर्षित गर्न पछि पर्नु हुदैन । आफ्ना क्षेत्रका महत्वपूर्ण स्थान, क्षेत्र, दिने सुविधाका विषयमा पर्यटन ब्यवसायीहरूले प्रचार प्रसार गर्नु पर्दछ । सरकारले पर्यटन विकासका लागि पर्यटन ब्यवसायीको संरक्षण, प्रवर्धन, प्रोत्साहन गर्ने तर्फ ध्यान दिन जरूरी छ ।
नेपाल प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र घुम्न लायक स्थानहरू प्रसस्तै मात्रामा छन् । सवैले पर्यटन विकासका लागि आफ्नो ठाँउको विकास र पर्यटकीय स्थान, महत्वपूर्ण क्षेत्र, परम्परागत वा आधुनिक वस्तु र ब्यवस्थापनको प्रचार प्रसार गर्न सक्नु पर्दछ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि आफ्नो क्षेत्रको पर्यटन विकासका लागि प्राथमिकता प्राप्त योजना बनाई प्रसस्त मात्रामा बजेट विनियोजन गरी कार्यान्वयन गर्ने र तिनैतहका सरकारहरूले पर्यटन ब्यवसायीहरूलाई विभिन्न सुविधा दिई प्रोत्सान गर्न सक्ने हो भने नेपालको आर्थिक विकासको मूल आधार पर्यटन हुनेमा विश्वास गर्न सकिन्छ ।