
बाणगंगा, १२ फागुन ।
कपिलवस्तुको बुद्ध रंगशाला, जितपुरमा दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । खेलकुद विकास संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाका अनुसार फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रतियोगिताले तिलौराकोटको राष्ट्रियस्तरमा प्रचार गर्ने विश्वास व्यक्त गरे । उनले भने, “भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको यो ऐतिहासिक स्थल आवश्यक स्तरमा विकास हुन सकेको छैन । यो प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धन गर्दै तिलौराकोटलाई चिनाउनेछ ।”
पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रतियोगिताले कपिलवस्तुको पहिचान बढाउने भन्दै सफलता शुभकामना दिए । उनले मिडिया सहयोगबाट प्रतियोगिताको प्रचार गरिने र खेल अघि जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्न सकिने बताए ।
प्रतियोगिताका खेल तालिका
फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् ।
- उद्घाटन खेलमा कपिलवस्तु ११ र संकटा क्लब भिड्नेछन् ।
- फागुन १५ गते मछिन्द्रनाथ र हिमालय शेर्पा बीच प्रतिस्पर्धा हुनेछ ।
- फागुन १६ गते बीएफसी चितवन र थ्री स्टार क्लब आमनेसामने हुनेछन् ।
- फागुन १७ गते जोन्जी एफसी (एफसी सिक्किम) र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।
प्रथम पुरस्कार ११ लाख ११ हजार १११ रुपैयाँ
प्रतियोगिताको विजेता टोलीलाई ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेता टोलीलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी,
- सर्वोत्कृष्ट खेलाडी – ५० हजार
- उत्कृष्ट खेलाडी – ३० हजार
- म्यान अफ दि म्याच – १० हजार
प्रवेश टिकट दर पहिलो चरणका खेलका लागि २०० रुपैयाँ, सेमिफाइनलका लागि ३०० रुपैयाँ, र फाइनल खेलका लागि ४०० रुपैयाँ तोकिएको छ । एक हजार रुपैयाँको टिकट काट्ने दर्शकले सम्पूर्ण खेलहरू अवलोकन गर्न पाउनेछन् । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।