
बाणगङ्गा, फागुन १४ ।
दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता मा सङ्कटा फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बुधवार भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटाले आयोजक कपिलवस्तु -११ लाई १ – ० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्त्यतिर थप गरिएको २ मिनेटमा उत्तम शाहीले निर्णायक गोल गर्दै सङ्कटालाई जित दिलाए ।
सङ्कटाका नायक बनेका उत्तम शाही खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे, जुन युवा व्यवसायी तथा समाजसेवी आशिष शर्माले प्रदान गरेका थिए।
यस हारसँगै आयोजक कपिलवस्तु- ११ प्रतियोगिताबाट बाहिरिएको छ, भने सङ्कटा क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। प्रतियोगिताको अर्को खेल बिहीबार दिउँसो ३ बजे मछिन्द्र एफसी र हिमालयन शेर्पा एफसी बीच हुनेछ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ रुपैयाँ, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।