
बाणगंगा, फागुन १९ । मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा जोङ्ग्री एफसी सिक्किमलाई १–० को झिनो अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि भिडन्तमा थ्रीस्टार एफसीसँगको भेट पक्का गरेको हो ।
बुद्धरंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा ५३औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । निर्धारित समयमा सिक्किमले गोल फर्काउन नसकेपछि विमलको यही गोल मछिन्द्रलाई फाईनल यात्रा तय गराउन निर्णायक बन्यो ।
मछिन्द्रका कप्तान समेत रहेका विमल ‘म्यान अफ द म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे । पुरस्कार बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले प्रदान गरे ।
यसअघि, आईतबार भएको पहिलो सेमिफाईनलमा थ्रीस्टार एफसीले संकटा एफसीलाई १–० को झिनो अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरिसकेको छ । अब मछिन्द्र एफसी र थ्रीस्टार एफसीबीच फाईनल खेल बुधबार दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको हो ।