
चैत्र २४ । जिल्लाको यशोधरा गाउँपालिकाले गहुँ खेतमा मेशीनबाट भुस बनाउने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको छ । चैत्र २३ गते शनिबार बसेको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक सुरक्षा सावधानीको रूपमा चैत्र महिनाभरि गहुँ खेतमा मेशीनबाट भुस बनाउने कार्यमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गाउँपालिका क्षेत्र आगलागीको उच्च जोखिममा रहेको र विशेषगरी गहुँ बाली काटिसकेपछि खेतमा आगो लगाउने प्रवृत्ति बढेको पाइएको छ । यसका साथै, भुस बनाउने मशीनले पनि केही स्थानमा आगलागी निम्त्याएको पाइएकाले यो महत्वपूर्ण निर्णय लिइएको गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले जनाए ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार, सबै किसानहरूले गहुँ काटिसकेपछि अर्थात् २०८२ बैशाख महिनामा मात्र सम्बन्धित वडा अध्यक्षको सिफारिसमा गहुँ खेतमा मेशीनबाट भुस बनाउन सकिनेछ ।
यो निर्णय विपरीत कार्य गरेमा कानून बमोजिम कारबाही हुने समेत गाउँपालिकाले चेतावनी दिएको छ । स्थानीय विपद् व्यवस्थापन समितीका सदस्य सचिव एवं योजना अनुगमन तथा प्रशासन शाखा प्रमुख रेशमराज शर्माका अनुसार, “सुख्खा मौसममा गहुँको नाल र भुसमा सानो आगोको झिल्कोले पनि ठूलो आगलागीको रूप लिन सक्छ, जसले जनधनको क्षति हुनसक्ने खतरा बढाउँछ ।”
यो निर्णयले गाउँपालिका क्षेत्रमा हुनसक्ने सम्भावित आगलागीका घटनाहरू न्यूनीकरण गर्न र स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीय अगुवा हजरत अलिको छ ।
गाउँपालिकाले सबै किसान तथा स्थानीयवासीलाई यो निर्णयको अनुपालना गर्न अनुरोध समेत गरेको छ । निर्णय बिपरितको कार्य भएमा गरेमा कानून बमोजिम हुने गाउँपालिकाले जनाएको छ ।