बालगृहका बालबालिकाका लागि श्रृङ्गीघाट वनको उपयोगी सहयोग


पालिका पत्र

३ बैशाख २०८२, बुधबार ०८:३७ मा प्रकाशित


बाणगंगा, ०३ बैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले कपिलवस्तु बालगृह, तौलिहवामा ६ ओटा दराज सहयोग स्वरूप हस्तान्तरण गरेको छ। वनकी सचिव सुष्मा खाँणका अनुसार आर्थिक वर्ष २०८१र०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार बालगृहमै पुगेर उक्त सहयोग प्रदान गरिएको हो।

वनका अध्यक्ष सुसिलसिंह ठकुरीले बालगृहको आवश्यकतालाई प्राथमिकतामा राख्दै दराज सहयोग गरिएको जानकारी दिए। “बालबालिकाले आफ्ना अत्यावश्यक सामग्री सुरक्षित रुपमा राख्न सकून् भन्ने उद्देश्यले दराज हस्तान्तरण गरिएको हो,” ठकुरीले बताए। साथै उनले बालगृहसँगको आफ्नो लामो समयदेखिको सम्वन्ध स्मरण गर्दै समाजका अन्य निकायलाई पनि यस्ता सहयोगमा सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षण, व्यवस्थापनसँगै सामाजिक तथा मानवीय क्षेत्रमा पनि अग्रसर भई काम गरिरहेको उल्लेख गर्दै, ठकुरीले असहाय र अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक भएको बताए।

बालगृहका अध्यक्ष गोपालमणी ज्ञवालीले श्रृङ्गीघाट सामुदायिक वनले विगतदेखि नै भौतिक, आर्थिक तथा नैतिक सहयोग गर्दै आएको भन्दै धन्यवाद ज्ञापन गरे। “बालबालिकालाई लत्ताकपडा, कापीकलम जस्ता सामग्री व्यवस्थित राख्न सहज हुनेछ,” उनले भने।

कपिलवस्तु बालगृहमा हाल ३२ जना बालकलाई आश्रय, शिक्षा, हेरचाह तथा पालनपोषणको व्यवस्था गरिएको छ। यस प्रकारको सहयोगले बालबालिकाको जीवनस्तरमा सुधार आउने र व्यवस्थित बसोबासको वातावरण तयार हुने ज्ञवालीको विश्वास छ। कार्यक्रममा सामुदायिक वन तथा बालगृहका पदाधिकारी, कर्मचारी र बालबालिकाको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्