
बाणगंगा, जेठ ३१ ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई प्रदेशमै उत्कृष्ट पालिका बनाउने लक्ष्यसहित अगाडि बढिरहेको बताएका छन् । उनले शनिबार सञ्चारकर्मीहरूसँग आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
नगरप्रमुख अर्यालका अनुसार बाणगंगा नगरपालिका हरेक सूचकमा अग्रस्थानमा रहेको तथ्यांकले पुष्टि गरिरहेको छ। “अब हाम्रो प्रतिस्पर्धा जिल्लाका पालिकासँग होइन, प्रदेश र राष्ट्रस्तरसँग हो,” उनले भने, “काठमाडौं पुग्दा बाणगंगा कुन जिल्लाको भन्ने प्रश्न अब गर्नुपर्दैन, सबैले चिन्न थालिसकेका छन्।”
कार्यसम्पादनका दृष्टिकोणले बाणगंगा प्रदेशकै उत्कृष्ट तीन पालिकामध्ये पर्दै आएको र राष्ट्रियस्तरमा समेत उत्कृष्ट १५ पालिकाभित्र परेको मेयर अर्यालको दाबी छ।
उनले संचारमाध्यमहरूको संरक्षण, प्रवर्द्धन र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै बाणगंगालाई मिडियाको केन्द्र बनाउने लक्ष्यसहितकाम गर्न पत्रकारलाई सुझाए । साथै उनले नगरपालिकाले हालै तयार पारेको पाँचवर्षे पर्यटन गुरुयोजनामार्फत धार्मिक, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र प्रचारप्रसारमा सञ्चारमाध्यमहरूसँग सहकार्य गरिने बताए ।
“संचारमाध्यमहरूमार्फत सूचना प्रवाह र समृद्धिको सन्देश फैलाउने काममा अझ सशक्त ढंगले लाग्छौं,” उनले भने। आगामी नीति तथा कार्यक्रममा पत्रकारहरूसँग त्रैमासिक भेटघाट कार्यक्रमलाई पनि समेटिएको छ।
कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरीले पत्रकारितामा सत्य, तथ्य र विश्लेषणमा आधारित समाचारको खाँचो औंल्याउँदै समाजमा सकारात्मक प्रभाव पार्ने पत्रकारिता आवश्यक रहेको धारणा राखिन । उनले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिने जानकारी दिईन।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, नगरप्रवक्ता विष्णुप्रसाद पौडेल, सञ्चारकर्मीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नीति संवादमा विशेष चासो देखिएको थियो।