पिपरा अस्पतालमा पहिलोपटक हाइड्रोसिलको सफल शल्यक्रिया


पालिका पत्र

१० श्रावण २०८२, शुक्रबार २१:०३ मा प्रकाशित

बाणगंग, ०९ साउन ।
कपिलवस्तुको बाणगंगा २ पिपरा अस्पतालमा जनरल सर्जरी सेवा सुरु भएको छ । जनरल सर्जन डाक्टर आए सँगै यो सेवा सुरु भएको हो । शुक्रवार अस्पतालमा पहिलो पटक हाइड्रोसिलका बिरामिको अप्रेसन गरिएको छ ।


जिल्लाको शुद्धोधन गाउँपालिका–१ का एक बिरामीको हाइड्रोसिलको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रशासन प्रमुख राजु सुनारीले जानकारी दिए । उक्त शल्यक्रिया स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको हो ।

राजु सुनारीका अनुसार अब पिपरा अस्पतालमा हाइड्रोसिल, हर्निया, पथ्थरी, पाइल्स, फिसर, फिस्टुला, स्तन तथा पेटसम्बन्धी समस्या, एपेन्डीसाइटिस लगायत शरीरका विभिन्न गाठा–गुठीको चेकजाँच र शल्यक्रिया दैनिक रूपमा गरिनेछ ।

शल्यक्रियामा डा. संजोक शिवाकोटी र डा. सरस्वती भट्टराई नेतृत्वको विशेषज्ञ चिकित्सक टोली सहभागी भएको थियो । अप्रेसन सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले पिपरा अस्पतालमा आगामी दिनमा थप विशेषज्ञ चिकित्सक र सेवा विस्तार गर्ने तयारी भइरहेको बताए । उनले भने, ”अब सर्जरी सेवाका लागि बिरामीलाई अन्यत्र धाउनुपर्ने आवश्यकता हट्नेछ।”

प्रतिक्रिया दिनुहोस्