बाणगंगामा ५ वर्षसम्मका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइने


पालिका पत्र

१० श्रावण २०८२, शुक्रबार २१:३० मा प्रकाशित

बाणगंगा, साउन ०९ ।
बाणगंगा नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी स्वर्ण बिन्दु प्राशन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । शुक्रबार बाणगंगा नपा–८ स्थित जलेश्वर मन्दिर परिसरमा रहेको आयुर्वेद औषधालयमा कार्यक्रम सम्पन्न भएको हो ।

बालबालिकालाई साउन १० गते शनिवार बिहान ६ बजेदेखि ९ बजेसम्म खाली पेटमा स्वर्ण प्राशन खुवाइने भएको हो । कार्यक्रमको उद्देश्य बालबालिकाको रोग प्रतिरोध क्षमता वृद्धि गर्नुका साथै शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा उप–प्रमुख रिता कुमारी चौधरीले प्रारम्भिक बाल स्वास्थ्यमा यस्ता आयुर्वेदिक विधिहरू उपयोगी हुने भन्दै पालिका स्तरमै यस्ता पहलहरूको आवश्यकतामा जोड दिइन ।

यस अवसरमा लुम्बिनी प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङका बालरोग विशेषज्ञ डा. अर्जुन राज शर्माले स्वर्ण प्राशनको वैज्ञानिक पृष्ठभूमि, फाइदाहरू र सुरक्षित सेवन विधिको बारेमा जानकारी दिएका थिए । उनका अनुसार स्वर्ण प्राशनले रोगसँग लड्ने क्षमता मात्र होइन, एकाग्रता र स्मरणशक्ति पनि सुधार गर्छ ।

स्वर्ण प्राशन परम्परागत आयुर्वेदिक विधि हो, जसमा मह, घ्यु र सुनको भस्म मिसाएर तयार गरिन्छ । यो महिनाको पुष्य नक्षत्रमा खाली पेटमा खुवाउनुपर्छ, र कम्तीमा ३० पटकसम्म खुवाउनु उपयुक्त मानिन्छ ।

सामान्य स्वास्थ्य अवस्थाका बालबालिकालाई मात्र यो औषधि दिनुपर्छ । ज्वरो, पखाला, सर्दी–रुघाखोकीजस्ता समस्या भएका बच्चालाई भने स्वर्ण प्राशन दिनु हुँदैन । चिकित्सकको सल्लाहमा दिइने यो विधि वैज्ञानिक अनुसन्धानले पनि प्रभावकारी रहेको पुष्टि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्