बाणगंगामा मिष्ठान्न भण्डार अनुगमन, अखाद्य तेल र म्याद नाघेका खाद्यसामग्री नष्ट


पालिका पत्र

२३ भाद्र २०८२, सोमबार १६:५१ मा प्रकाशित

कपिलवस्तु, २३ भदौ ।
बाणगंगा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ । वडा नं. १ र ४ भित्रका विभिन्न मिष्ठान्न भण्डार तथा नास्ता पसलमा अनुगमन गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने गतिविधि भेटिएको छ ।


अनुगमनका क्रममा रंग प्रयोग गरिएको खाद्य सामग्री, कमसल तेल, म्याद नाघेका वस्तु, मुल्यसूची नटाँसिएको, ईजाजत विना सञ्चालन भइरहेका पसल पाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रुकमागत अर्यालले जानकारी दिए । उनका अनुसार उपभोक्तालाई नठग्ने र गुणस्तरीय सामान सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले संयुक्त अनुगमनलाई कडाइका साथ अगाडि बढाइएको हो ।


अनुगमन टोलीले गजेहडास्थित ओम गणपति नास्ता पसल तथा मिष्ठान्न भण्डारलाई रु १० हजार जरिवाना तोकेको छ । यस्तै न्यु मुन्ना मिष्ठान्न भण्डार, हेमन्त मिष्ठान्न भण्डार, दुध डेरी र पञ्चामृत मिष्ठान्न भण्डारलाई सचेत गराइएको छ ।


घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा गरिएको अनुगमनमा मुख्यतः उपभोक्ताको प्रत्यक्ष सरोकार भएका पसल र निरीक्षण गरिएको थियो । अनुगमनमार्फत कानुनी दायरामा ल्याउने र सेवासुधारमा ध्यान दिन आग्रह गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले बताए ।


त्यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख सरोज खनालले करिब १० लिटर अखाद्य तेल र लेबलविहीन वस्तु जफत गरी नष्ट गरिएको जानकारी दिए ।


अनुगमन टोलीले अधिकांश मिष्ठान्न पसलमा सरसफाइको अवस्था समेत दयनीय रहेको निष्कर्ष निकालेको छ । पकाउने भाँडादेखि लिएर काम गर्ने ठाउँसम्ममा न्यूनतम सफाइको मापदण्ड पालना नभएको पाइएको छ । यसले उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सम्बन्धित पसल सञ्चालकलाई तत्काल सुधार गर्न चेतावनी दिइएको हो ।


प्रशासनले उपभोक्तालाई पनि सजग रहन आग्रह गरेको छ । खानपानका सामान खरिद गर्दा लेबल, म्याद र गुणस्तरबारे जानकारी लिएर मात्र किनमेल गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्