
कपिलवस्तु, २६ भदौ ।
कपिलवस्तुमा शान्ति सुरक्षाको अवस्था सुदृढ गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङका अनुसार बिहीबार राति १० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।
हालैका प्रदर्शन, ढुंगा प्रहार, तोडफोड र तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा भीडभाड, जुलुस, प्रदर्शन, सभा, जथाभावी आवतजावत तथा हिंसात्मक गतिविधिमा संलग्न हुनेलाई कडाइका साथ नियन्त्रण गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।
प्रजिअ तामाङले भने, “शान्ति सुरक्षा कायम गर्न, सम्भावित अप्रिय घटना रोक्न र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको हो । नागरिकले प्रशासनलाई सहयोग पुर्याउन अनुरोध छ ।”
जिल्लामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ भने महत्वपूर्ण चोक, सडक तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।