जेनजी आन्दोलनका घटनाप्रति बाणगंगा नगरपालिकाको गम्भीर आपत्ति


पालिका पत्र

३१ भाद्र २०८२, मंगलवार १९:२४ मा प्रकाशित

बाणगंगा, ३१ भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बाणगंगा नगरपालिकामा भएका तोडफोड र आगजनी घटनाप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ । आन्दोलनकै नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति आपत्ति जनाउँदै नगर प्रमुख चक्रपाणि अर्यालले यस्ता गतिविधिले नगरको शान्ति, सद्भाव र विकासमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएका छन् ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै विद्यालय, प्रशासनिक भवन, सडक, सार्वजनिक संरचना र निजी सम्पत्तिमा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै, दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

“हिंसात्मक क्रियाकलापबाट कुनै पनि व्यक्ति वा समुदायलाई फाइदा हुँदैन, बरु समाजलाई थप हानी पुग्छ,” नगर प्रमुख अर्यालले विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा यस्ता गतिविधिले सामाजिक समरसता, सांस्कृतिक मूल्य र विकास प्रक्रियामा अवरोध सिर्जना गर्ने भएकाले सम्पूर्ण नगरवासीलाई शान्ति, एकता र सद्भाव कायम राख्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्