
बाणगंगा–०३ असोज ।
जितपुरस्थित बीबीसी मन्टेसरी टिचर ट्रेनिङ सेन्टरले तालिम सम्पन्न गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा तालिम पूरा गरेका सहभागीलाई औपचारिक प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि झुम प्रसाद अधिकारीले बालबालिकाको समग्र विकासका लागि मन्टेसरी शिक्षा प्रभावकारी हुने बताए । उनले तालिममा संलग्न प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई बधाई दिँदै, प्रशिक्षित शिक्षकहरूले अब बाल शिक्षण क्षेत्रमा नयाँ ऊर्जा, कौशल र सिर्जनात्मकता लिएर योगदान गर्ने विश्वास व्यक्त गरे ।
बीबीसी मन्टेसरी टिचर ट्रेनिङ सेन्टरकी सञ्चालक लक्ष्मी प्रोख्रेलले तालिममार्फत प्राप्त दक्षताले रोजगारीको अवसर विस्तार भएको बताइन् । उनका अनुसार सेन्टरमार्फत तालिम प्राप्त गरेका ८० प्रतिशत प्रशिक्षार्थीले जागिर प्राप्त गरिसकेका छन् । उनले आगामी दिनमा अझै व्यवस्थित र परिणाममुखी तालिम कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरिन् ।
यसै क्रममा, सहभागिहरुले तालिम सफलतापूर्वक पूरा गरी व्यवसाय विकास तथा परामर्श केन्द्र प्रा.लि. बाट औपचारिक प्रमाणपत्र प्राप्त गरेका छन् । तालिममा आवश्यक दक्षता हासिल गरेका ३० जनालाई प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यक्रममा तालिम प्रशिक्षक, व्यवस्थापन समिति, सरोकारवाला व्यक्तित्वहरू, प्रशिक्षार्थी तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । बीबीसी ट्रेनिङ सेन्टरका प्रतिनिधिहरूले प्रशिक्षार्थीहरूको लगनशीलता र सक्रियतालाई सराहना गर्दै भविष्यमा पनि यस किसिमका सीपमूलक तालिमलाई निरन्तरता दिइने जनाएका छन् ।