बाणगंगामा ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम प्रभावकारी


पालिका पत्र

१ कार्तिक २०८२, शुक्रबार १७:०९ मा प्रकाशित

बाणगंगा, ३० असोज ।
बाणगंगा नगरपालिकामा सञ्चालन भइरहेको ‘स्वर्ण बिन्दु प्राशन कार्यक्रम’ दिनानुदिन प्रभावकारी बन्दै गएको छ । बालबालिकाको दीर्घकालीन स्वास्थ्य र बौद्धिक विकासमा योगदान पुर्‍याउँदै यो कार्यक्रम नगरभित्र लोकप्रिय बन्दै गएको हो ।
नगर आयुर्वेद औषधालयद्वारा सञ्चालित यो कार्यक्रम गत साउन १० गतेदेखि सुरु गरिएको हो । रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक क्षमता सुदृढ बनाउने मुख्य उद्देश्यका साथ स्वर्ण बिन्दु प्राशन नियमित रूपमा खुवाइँदै आएको छ ।


नगर आयुर्वेद औषधालयका शाखा प्रमुख तेजबहादुर सोमैका अनुसार, असोज २९ गते बुधबारसम्म आइपुग्दा ५ सय ५७ जना बालक र ५ सय जना बालिकाले स्वर्ण बिन्दु प्राशन गरेका छन् । पहिलो दिन (साउन १०) मा सहभागी बालबालिकाको संख्या ९ सय ८३ मात्र रहेकोमा चौथो चरणसम्म आइपुग्दा संख्या १ हजार ५७ पुगेको छ । यसले अभिभावकहरूको विश्वास र सहभागिता दुवै बढेको स्पष्ट देखाएको छ । दउनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ भित्र कुल १४ पटकसम्म कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।


सहभागी अभिभावक रविना घिमिरेले यस अभियानले आयुर्वेदिक चिकित्सा प्रणालीलाई पुनर्जागरण गर्दै आधुनिक स्वास्थ्य विज्ञानसँग जोड्ने अवसर दिएको बताइन् । उनले भनिन्, “स्वर्ण बिन्दु प्राशनले बालबालिकालाई निरोगी र बुद्धिमान बनाउने विश्वास हाम्रोमा थप बलियो भएको छ ।”


अन्य अभिभावकहरूले पनि नगरले सञ्चालन गरेको यस्ता स्वास्थ्यमुखी पहलले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा मद्दत गर्ने भन्दै सन्तोष व्यक्त गरेका छन् ।


नगरका स्वास्थ्यकर्मीहरूले यस कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिँदा बाल स्वास्थ्यको मापदण्डमा सुधार ल्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्