रोटरी क्लब र श्रृङ्गीघाट वनको संयुक्त पहलः बिपन्न परिवारलाई नयाँ छानो


पालिका पत्र

१० कार्तिक २०८२, आईतवार २०:५५ मा प्रकाशित

बाणगंगा, ०९ कार्तिक ।
रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले बाणगंगा–४ ठाकुरापुरका लोकनाथ पोख्रेलको घर पुनःनिर्माण गरी हस्तान्तरण गरेको छ । क्लबले श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा पुनर्निर्माण सम्पन्न गरी आईतबार एक विशेष कार्यक्रमका बीच घर हस्तान्तरण गरेको हो ।


क्लबले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्य सम्पन्न गरेको जनाएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत क्रियाशील क्लबले विगतदेखि नै बाणगंगा क्षेत्रमा सामाजिक सेवामा सक्रिय भूमिका खेल्दै आएको छ ।


हस्तान्तरणपछि घरधनी लोकनाथ पोख्रेलले अत्यन्तै खुशी व्यक्त गर्दै भने, “यो मेरो खुशीको दिन हो । पुरानो घर, चुहिने छानो कारण म परिवारसहित अस्थायी रुपमा गुजरा बस्दै आएको थिएँ ।” उनले नयाँ आशा र आत्मबल दिएकोमा रोटरी क्लब र श्रृङ्गीघाट वनलाई धन्यवाद दिए ।


त्यस्तै श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका सह–सचिव हरि प्रसाद पौडेलले स्थानीय सरकारले गर्नुपर्ने काम क्लब र सामुदायिक संस्थाले गरेको बताए । उनले भने “समाजमा सहयोगको भावना बढ्दै गएको छ, यो खुसीको कुरा हो । सामुदायिक वन केवल वन व्यवस्थापनका लागि मात्र होइन, समाजका आवश्यकतामा पनि सहकार्य गर्न सधैं तयार छ ।”


क्लबका अध्यक्ष लेखा शर्माले रोटरी क्लबले समाजका हरेक तह र तप्कासँग सहकार्य गर्दै मानवीय सेवाका अभियानलाई निरन्तर अघि बढाइरहेको बताईन । उनले भनिन् “हामीले यो घर पुनर्निर्माण गरेर एउटा परिवारको छानो मात्र फिर्ता गरेका होइनौं, बरु समुदायमा ‘सहयोग र सहानुभूति’को सन्देश फैलाएका हौं । समाजका प्रत्येक सदस्यले सकेको सहयोग गरे भने कुनै पनि परिवार विपद्मा एक्लो रहँदैन ।” शर्माले क्लबको लक्ष्य केवल राहत वितरणमा सीमित नरहेको बताउदै आत्मनिर्भर र सुरक्षित समुदाय निर्माण गर्नु रहेको बताईन । आगामी दिनमा पनि रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले स्वास्थ्य, शिक्षा, सरसफाइ र पुनर्निर्माणका क्षेत्रमा निरन्तर काम गर्दै जानकारी दिईन् ।


कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, पूर्व अध्यक्ष वासुदेव घिमिरे, सर्भिस प्रोजेक्ट चेयर हेमन्त थापा, प्रेसिडेन्ट इलेक्ट रोमकान्त घिमिरे, क्लबका सचिव भिमलाल भट्टराई, साथै क्लबका अन्य पदाधिकारी, स्थानीय जनप्रतिनिधि र श्रृङ्गीघाट सामुदायिक वनका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्