बाणगंगामा पहिलो पटक बृहत् साइकल यात्रा हुने


पालिका पत्र

१७ कार्तिक २०८२, आईतवार ११:०७ मा प्रकाशित

बृजेस कुमार जयशवाल, १६ कात्तिक ।

कपिलवस्तुमा पहिलो पटक पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि बृहत् साइकल राइडिङ् कार्यक्रम हुने भएको छ । बाणगंगा राइडर्स क्लव कपिलवस्तुको आयोजनामा यही कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा गरिने भएको हो । यस बारेमा आयोजकले शनिबार चारनम्बर जितपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

“स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ बाणगंगा राईडर्स क्लब कपिलवस्तुले पहिलो बाणगंगा साइकल यात्रा–२०८२ आयोजना गर्ने तयारी भइरहेको र यसमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।

क्लबले आगामी कार्तिक २९ गते शनिबारका दिन बाणगंगामा विशेष साइकल यात्रा सञ्चालन हुने र यो यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित करिब ४ सय साइकलयात्रीहरु सहभागी हुने आयोजक संस्थाका टिकाराम पौडेलले जानकारी दिए ।

२०८० सालमा स्थापना भएको क्लबले स्थानीय स्तरमा साइकल संस्कृतिको प्रवर्द्धन गर्दै स्वास्थ्य, वातावरण र पर्यटनका पक्षमा जनचेतना फैलाउँदै आएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले साइकल यात्रा केवल मनोरञ्जनका लागि नभई समाजमा स्वास्थ्य सचेतना, वातावरणीय सन्तुलन र स्थानीय पर्यटन प्रवर्द्धनका लागि अत्यन्त प्रभावकारी पहल भएको बताए । उनले यस किसिमका कार्यक्रमहरूले स्थानीयस्तरमा सकारात्मक ऊर्जा फैलाउने र युवाहरूलाई सिर्जनशील कार्यमा संलग्न गराउने विश्वास व्यक्त गरे। साथै उनले बाणगंगा राइडर्स क्लबलाई यस्ता जनचेतनामूलक अभियान निरन्तर सञ्चालन गर्न शुभकामना व्यक्त गर्दै पत्रकार महासंघको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार हाल देशमा वायु प्रदूषण र ऊर्जा सङ्कट बढ्दै गएको सन्दर्भमा साइकल प्रयोगलाई प्रोत्साहन दिँदै स्वस्थ र वातावरणमैत्री जीवनशैली अङ्गाल्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।

यस्तै उक्त कार्यक्रमका कार्यक्रम संयोजक विष्णु प्रसाद घिमिरेले साइकल यात्रामा कपिलवस्तुका विभिन्न ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू अवलोकन गराउँदै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा कपिलवस्तु जिल्लाका साथै आसपासका जिल्लाका साइकल प्रेमीहरूको सहभागिता रहने जनाइएको छ भने यो यात्रामा विश्वा साइकल यात्री पुष्कर शाहसहित मुस्ताङको घरपजोङ गाउँपालिकाबाट पनि यात्रीहरू सहभागी हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा क्लबले साइकल यात्रा तयारीलाई तीव्र पारेको र सहभागिताका लागि सबैमा आह्वान समेत गरेको छ। साथै, साइकल प्रयोगलाई जीवनशैलीको हिस्सा बनाउन र स्वच्छ वातावरण निर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजक घिमिरेका अनुसार यो कार्यक्रममा देशभरबाट ४ सय जना सहभागी हुने छन् भने साइकल यात्राको दुरी कुल ७० किलोमिटर रहने छ ।

यो यात्रा कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका एघारै वटा वडा भित्रका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूलाई केन्द्रमा राखेर गरिने छ । कात्तिक २९ गते बिहान ७ बजेबाट यात्रा प्रारम्भ भई साँझ ५ बजे सक्ने लक्ष्य राखिएको छ । यो यात्रामा साइकल राइडरर्स बनेर सहभागी हुन इच्छुक व्यक्तिले एक हजार रकम तिरेर टिकट लिन सक्ने छन् । सहभागीहरूलाई यहाँका विभिन्न पर्यटकीय स्थलहरूमा अभिनन्दन, खाजा र एलर्जी ड्रिङ्कको व्यवस्थापन आयोजकले मिलाउने गरी तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्