कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले टेम्पो सञ्चालन र व्यवस्थापनका लागि स्पष्ट कार्यविधि तयार पारिने बताएका छन् ।
आइतबार बिहानदेखि पाँच वटा यातायात प्रालिहरूले अनिश्चितकालीन यातायात बन्द गरेपछि मेयर पौडेल स्वयं तौलिहवा बसपार्क पुगेर व्यवसायीहरूसँग छलफल गरेका थिए । सो अवसरमा उनले कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भइसकेको र कार्तिक २५ गतेभित्र अन्तिम निर्णय गरिने जानकारी दिए ।
उनका अनुसार शिवराज, बुद्धभूमि र बाणगंगा नगरपालिकाले बनाएको टेम्पो व्यवस्थापन कार्यविधि अध्ययन गरी कपिलवस्तु नगरपालिकाको आवश्यकताअनुसार नयाँ कार्यविधि तयार पारिनेछ । नयाँ प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल हुने उनले जनाए ।
यातायात व्यवसायीहरूले बसपार्क जीर्ण र फोहर भएको गुनासो गरेपछि मेयर पौडेलले यस आर्थिक वर्षमा बसपार्क सुधारका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । “अब टेम्पो व्यवस्थापनमा ढिलाइ हुँदैन, छिट्टै निकास निकाल्छौं,” मेयर पौडेलले भने ।
उनको प्रतिबद्धतापछि आइतबार दिउँसोदेखि बन्द गरिएको यातायात सेवा पुनः सञ्चालनमा आएको छ । यसअघि टेम्पो व्यवस्थापनका माग राख्दै कपिलवस्तु, पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिहरूले तत्कालीन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र मेयर पौडेललाई ज्ञापनपत्र बुझाएका थिए। जथाभावी टेम्पो सञ्चालनका कारण व्यवसायमा समस्या परेको उनीहरूको गुनासो छ ।

