बाणगंगा, २४ कार्तिक ।
बाणगंगा नगरपालिका–८, कपिलवस्तुस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले आयोजना गर्न लागेको “भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव–२०८२” का तयारी कार्य अन्तिम चरणमा पुगेका छन् । मंसिर ११ गतेदेखि १७ गतेसम्म सात दिन चल्ने उक्त महोत्सवको तयारीलाई तीव्रता दिइएको केन्द्रले जनाएको छ ।
तयारी बैठकले महोत्सवका सम्पूर्ण पक्षलाई व्यवस्थित गर्न ३५ वटा विषयगत उपसमिति गठन गर्दै विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। वडानं ८ का पूर्व वडा अध्यक्ष गुणानिधी भुसालका अनुसार, “महोत्सवलाई सफल र प्रभावकारी बनाउन जिम्मेवारी स्पष्ट विभाजनसहित काम अघि बढाइएको छ।”
केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारी का अनुसार, यस महोत्सवको मुख्य उद्देश्य छाडा चौपाया व्यवस्थापन, गौ संरक्षण, आध्यात्मिक चेतना अभिवृद्धि र सामाजिक एकता प्रवर्द्धन गर्नु हो। कार्यक्रममा गौसेवा, योग–ध्यान, धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शन, भजन–कीर्तन र नाट्य प्रस्तुति जस्ता विविध कार्यक्रमहरू समावेश गरिने तयारी गरिएको छ।
बैठकमा स्थानीय समुदाय, नगरपालिका, धार्मिक संस्था र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले महोत्सवलाई अनुशासित र भव्य बनाउन एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वडा नं. ८ का अध्यक्ष बाबुराम अर्याल ले महोत्सवले स्थानीय एकता, धार्मिक चेतना र सामाजिक सद्भावमा नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो।
केन्द्रका सचिव गोविन्द कंडेल का अनुसार, मंसिर ११ गते हुने शुभ उद्घाटनसँगै सुरु हुने महोत्सवमा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रका साधु–सन्त, विद्वान र समाजसेवीहरूले विशेष प्रवचन दिनेछन्। साथै, दैनिक गौपूजन, आरती र आध्यात्मिक कार्यक्रमहरू महोत्सवको मुख्य आकर्षण हुनेछन्।
स्थानीयवासीहरूले यस्तो आध्यात्मिक आयोजनाले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय पहिचान सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। साथै, यसले गौपालन र जैविक कृषिको प्रचार–प्रसारमा सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।
यसबीच, तयारीका क्रममा स्थल सरसफाइ, मञ्च निर्माण, गौशालाको सौन्दर्यीकरण र यातायात व्यवस्थापनका काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। केन्द्रले सम्पूर्ण भक्तजन र स्थानीय समुदायलाई महोत्सवलाई भव्य, अनुशासित र आध्यात्मिकरूपमा सफल बनाउन सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।

