कपिलवस्तु । बाणगङ्गा नगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र आत्मनिर्भरता लक्षित गर्दै आजदेखि नेपाली उन्नत जातका गहुँको बिउ वितरण कार्य सुरु गरेको छ। वितरण कार्य कार्तिक २८ गतेसम्म चल्ने नगरपालिका कृषि विकास शाखाले जनाएको छ।

गत भदौ १ गते सूचना प्रकाशित गरी तोकिएको समयमा निवेदन दिएका कृषक, कृषक समूह र सहकारीहरूलाई जम्मा ६७८ कुन्टल गहुँको उन्नत बिउ वितरण भइरहेको कृषि विकास शाखा प्रमुख लेष बहादुर केसीले जानकारी दिनुभयो।
उहाँका अनुसार वितरण भइरहेको उन्नत गहुँका जातहरूमा एन एस, गौतम, बाणगङ्गा लगायत गरी पाँचवटा नेपाली उन्नत जातका बिउहरू समावेश छन्। वडा नं १ देखि ९ सम्मको वितरण नगरपालिकाबाट हुँदैछ भने वडा नं १० र वडा नं ११ का कृषकहरूका लागि सम्बन्धित वडाबाट नै बिउ वितरण भइरहेको छ।
शाखा प्रमुख केसीले मागअनुसार वितरण गर्न नसकिएको बताउदै कृषकहरूको उत्साह उच्च भए पनि बजेट अभावका कारण अहिले मागको करिब ४८ प्रतिशत मात्र बिउ उपलब्ध गराइने बताउनुभयो । बिउ वितरण कार्यको औपचारिक सुरुवात नगर प्रमुख चक्रपाणि अर्याल, उप–प्रमुख रीता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले संयुक्त रूपमा कृषकहरूलाई बिउ हस्तान्तरण गर्दै गर्नुभएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाले किसानमैत्री नीति अवलम्बन गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो “हाम्रो प्राथमिकता कृषकलाई सशक्त बनाउने र उत्पादकत्व बढाउने हो। आगामी वर्ष अझ बढी किसानलाई समेट्ने गरी बजेट वृद्धि गरिनेछ।”
त्यस्तै, उप–प्रमुख चौधरीले कृषकहरूलाई आधुनिक प्रविधि र उन्नत बिउको प्रयोगमा प्रोत्साहित गर्दै भन्नुभयो “गहुँ उत्पादनमा आत्मनिर्भर बन्न हामी सबै मिलेर अघि बढ्नुपर्छ। महिलाहरू समेत कृषिमा सक्रिय रूपमा सहभागी हुन आवश्यक छ।”
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले वितरण प्रक्रिया पारदर्शी र निष्पक्ष ढङ्गले सम्पन्न भइरहेको बताउनु भयो ।
कृषकहरूले उन्नत बिउ पाउँदा खुसी व्यक्त गर्दै उत्पादन वृद्धि र लागत घट्ने अपेक्षा गरेका छन ।

