कपिलवस्तुको बाणगंगा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट ६ हजार भन्दा बढी नगरवासी लाभान्वित भएका छन्।
मंसिर ७ गतेदेखि सुरु भएको शिविरमा ६ हजार १५३ जनाले आँखा परीक्षण गराएका छन्। जसमध्ये ४६४ जनाको मोतियाविन्दु तथा अन्य समस्या सम्बन्धी निःशुल्क शल्यक्रिया गरिएको नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो।उहाँका अनुसार ३ हजार १३३ जनालाई चस्मा वितरण गरिएको छ।
नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीको आँखासम्बन्धी समस्यालाई पहिचान गर्दै नगरपालिका विगत ३ वर्षदेखि निरन्तर रूपमा वार्षिक कार्यक्रम अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले पहिलो चरणमा वडा नं। १, २, ३, ७, ८ र ९ का नागरिकको आँखा जाँच गरी आवश्यकता अनुसार पिपरा अस्पतालमा अप्रेसन तथा चस्मा–औषधि वितरण गरिएको जानकारी दिनुभयो। बाँकी वडाका बासिन्दालाई दोस्रो चरणमा सहभागी गराएर कोपवा स्वास्थ्य चौकीमा सेवा प्रदान गरिएको पनि उहाँको भनाइ छ।
नगरप्रमुख अर्यालले स्वास्थ्य नै मानिसको अमूल्य धन भएकाले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई शीर्ष प्राथमिकतामा राख्दै आएको बताउनुभयो । “शल्यक्रियाबाट अन्धोपनाको जोखिम घटाउन तथा दृष्टि पुनः फर्काउन सकिने भएकाले यस्तो सेवा अझ विस्तार गर्दै लैजानेछौँ,” उहाँले भन्नुभयो।
शिविरमा सहभागी अधिकांश सेवाग्राहीहरूले मोतियाविन्दुको निःशुल्क अप्रेसन पाउँदा खुशी व्यक्त गरेका छन्। “बुढ्यौलीमा आँखा देखिन छाडेको थियो, अब फेरि संसार नै उज्यालो भएको छ,” एक सेवाग्राहीले प्रतिक्रिया दिए।
वडा नं।५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले शिविर सफल र प्रभावकारी रूपमा सम्पन्न भएको बताउँदै यस्तो अभियानले वडावासीको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याएको उल्लेख गर्नुभयो।
“आँखा जाँचदेखि अप्रेसन र चस्मा वितरणसम्मको सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गरिनु प्रशंसनीय काम हो। धेरै वर्षदेखि समस्या बोकेर हिँडेका नागरिकले आराम र राहत पाएका छन्। यस्ता कार्यक्रम निरन्तर हुनु आवश्यक छ,” उहाँले भन्नुभयो ।
बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित छन्द ‘कालेबाबु’ नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो।

