बाणगंगा, २० मंसिर । बाणगंगा राइडर्स क्लब कपिलवस्तुले आयोजना गरेको पहिलो बाणगंगा साइकल यात्रा–२०८२ सम्बन्धी विस्तृत आय–व्यय विवरण सार्वजनिक गरेको छ । स्वस्थ जीवनशैलीको प्रवर्द्धन, स्वच्छ वातावरण संरक्षण र पर्यटन विकास मुख्य उद्देश्य राखिएको उक्त यात्राबाट संकलित आम्दानी तथा खर्चबारे मंसिर २० गते औपचारिक रूपमा विवरण प्रस्तुत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा–४ का वडा अध्यक्ष छविलाल रेश्मी मगरले समुदायमा स्वास्थ्यप्रति जागरूकता फैलाउन साइकल यात्रा प्रभावकारी माध्यम बनेको उल्लेख गरे । उनले यि खाले कार्यक्रमले युवाहरूलाई वातावरणमैत्री जीवनशैली अपनाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गरे । वडा अध्यक्ष रेश्मीले नगरपालिका सदैव यस्ता सदुपयोगी अभियानसँग सहकार्य गर्न तत्पर रहेको बताए ।
विशिष्ट अतिथि समाजसेवी कृष्ण बहादुर कुवँरले यात्रा केवल मनोरञ्जन नभई सामाजिक एकताको सन्देश बोकेको गतिविधि भएको उल्लेख गरे । उनले जीवनशैलीमा साना–साना सकारात्मक परिवर्तनले दीर्घकालीन प्रभाव पार्ने बताए । कुवरले बाणगंगामा स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनका यस्ता पहल अत्यन्त आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा श्रृङ्गीघाट सामुदायिक वनका प्रतिनिधि हरि पौडेलले वातावरण संरक्षणका अभियन्ताका रूपमा साइकल यात्रा जस्ता गतिविधि अत्यन्त सकारात्मक रहेको बताए । उनले हरियाली, स्वच्छता र वातावरणीय सन्तुलनका विषयमा जनचेतना बढाउन यस प्रकारका कार्यक्रमले ठूलो प्रभाव पर्ने जनाए । पौडेलले सामुदायिक वन तर्फबाट भविष्यमा पनि सहयोग निरन्तर रहिरहने प्रतिबद्धता जनाए ।
आय–व्यय विवरण
क्लबले प्रस्तुत गरेको विवरण अनुसार सदस्य शुल्क, विभिन्न संघ–संस्था तथा व्यक्तिबाट प्राप्त सहयोग, सहआयोजकबाट प्राप्त रकमसहित कुल आम्दानी रु ११,८९,४८५ भएको छ ।
त्यसैगरी, पोशाक, स्वागत–सत्कार, उद्घाटन समारोह, यातायात, सञ्चार, खाना–नास्ता, स्टेज व्यवस्थापन, साउण्ड, पुरस्कार–सम्मान, दुर्घटना बीमा लगायतका शीर्षकमा कुल खर्च रु १४,०७,०४० भएको उल्लेख गरिएको छ ।
यस आधारमा रु २,१७,५५५ घाटा देखिए पनि संस्थाले पाउन बाँकी रहने स्थानीय तह, लुम्बिनी प्रदेश पर्यटन, हिमालयन बैंक तथा अन्य संघ–संस्थाबाटको प्रतिबद्ध रु ५,१७,००० प्राप्त भएपछि कुल रु २,९९,४४५ बचत हुने विवरणमा उल्लेख छ ।
कार्यक्रममा क्लबका पदाधिकारीहरूले साइकल यात्रालाई सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति, संघ–संस्था, स्वयंसेवक तथा सहभागी साइकलिस्टहरूप्रति विशेष धन्यवाद व्यक्त गरे ।
कार्यक्रम क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षता, उपाध्यक्ष विष्णु गैरेको स्वागत मन्तव्य तथा सचिव रामचन्द्र वल्बासेको सञ्चालनमा सम्पन्न भएको हो । कात्तिक २९ गते सम्पन्न साइकल यात्रामा विभिन्न उमेरसमूहका उत्साही साइकलिस्टहरूको उल्लेखनीय सहभागिता थियो । क्लबले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै समर्थक, सहभागी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।

