लुम्बिनी क्रेशरबाट भ्याट छलि र अवैध निकासी: बाणगंगामा ठेकेदारको दोहोरो खेल


पालिका पत्र

२३ मंसिर २०८२, सोमबार १२:०८ मा प्रकाशित

बाणगंगा, २२ मंसिर । गौरवको सडक आयोजनाको नाममा सञ्चालित एक क्रेशर उद्योगबाट पछिल्लो समय नदीजन्य पदार्थको व्यापक तस्करी भइरहेको खुलासा भएको छ । बुटवल–गोरुसिंगे गौरव सडक आयोजनाका लागि बाणगंगा नगरपालिकाबाट अमानतमा निकालिएको नदीजन्य सामग्रीलाई निर्माण कम्पनी एससिइजीसी–एनएस जेभी मातहतको लुम्बिनी क्रेशरले निजी क्षेत्रमा महँगो दरमा बिक्री गरेको तथ्य सार्वजनिक भएको हो ।

गत आर्थिक वर्षमा बाणगंगा नदीको श्रीङ्गीघाटदेखि मधुवनसम्मबाट ६३ हजार ९९६ घनमिटर नदीजन्य पदार्थ ३ करोड ३८ लाख ८१ हजार ६३१ रुपैयाँ मात्रमा उठाएको ठेकेदारले नक्कली ससिद बनाइ दोब्बर परिमाण समेत निकालिएको आरोप यतिबेलासम्म हटिसकेको छैन । यही क्रममा, निजी क्षेत्रलाई महँगोमा बिक्री भइरहेको सूचनाका आधारमा सञ्चारकर्मीले क्रेशरमै पुगेर अनियमितता भेटेका हुन् ।

क्रेशरले लु ३ त ४६०७रा १ त ३०१७ नम्बरका ट्याक्टरहरूमा कम बिल (विजक) बनाइ भ्याट छलि गर्दै आयोजनाका नाममा ल्याइएको नदीजन्य सामग्री निजी व्यक्तिलाई बिक्री गरिरहेको प्रत्यक्ष प्रमाण भेटिएको हो। यसअघि पनि यही कम्पनी अन्तर्गतको क्रेशरबाट नदीजन्य पदार्थ चोरी र नक्कली रसिद काण्डमा नपरेको होइन।

गत चैत १२ गते नगरपालिका टोलीले अनुगमन गर्दा लु २ ख १७०४ नम्बरको टिप्परबाट नक्कली रसिदमार्फत ढुवानी गरिएको नदीजन्य पदार्थ फेला पारेको थियो। ४२० नम्बरको रसिद काटिसकिएको अवस्थामा अनुगमनको सूचना पाएपछि हतार–हतार ४१२ नम्बरको नक्कली रसिद काटिएको जनाएको थियो, जसका आधारमा नगरपालिका राजस्व शाखाले वाहन नियन्त्रणमा लिएर ६० हजार रुपैया जरिवाना गरेको थियो।

बुटवल–गोरुसिंगे चार लेन सडक निर्माणका लागि १ लाख घनमिटर सामग्री आवश्यक पर्ने लागत स्टिमेट रहे पनि ठेकेदारले नगरपालिका समक्ष ३ लाख घनमिटर माग गरेको थियो। तर बाणगंगा नगरपालिकाले महत्वपूर्ण आयोजना भन्दै भ्याट बाहेक १५ रुपैयाँ प्रतिघनमिटरमा ६४ हजार घनमिटर मात्र स्वीकृति दिएको छ, जुन दर अन्य व्यवसायीको तुलनामा आधाभन्दा कम छ। सम्झौतामा स्पष्ट रूपमा नदीजन्य पदार्थ आयोजनाका काममै प्रयोग गर्नुपर्ने उल्लेख छ।

यसैबीच, क्रेशर उद्योगले निजी ग्राहकलाई सामग्री बिक्री गर्दा भ्याट छलि गर्दै आएको समेत खुलासा भएको छ। प्रतिफुट ५५ रुपैयाँमा बिक्री गरिएको बालुवा खरिद गर्दा व्यवसायीले ५,५०० रुपैयाँ भुक्तानी गरे पनि बिल भने २,००० रुपैयाँ मात्र काटिने गरेको ट्याक्टर चालकहरूको कथन छ।

गौरव परियोजनाको नाममा निरन्तर अनियमितता गर्ने ठेकेदार तथा क्रेशर संचालक बाबुराम अधिकारीविरुद्ध अनेक गुनासा आउन थाले पनि सम्बन्धित निकाय बेखबर झैँ रहेको स्थानीयको आरोप छ। बाणगंगा नगरपालिका राजस्व शाखा प्रमुख मदन घिमिरेले निजी क्षेत्रमा बिक्री गर्न नपाइने नियम रहेको र यस्तो गतिविधि फेला परे कारबाही हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्