पत्रकार आचारसंहिता पालना गरे पत्रकारिताका समस्या स्वतः समाधान हुन्छन् : अध्यक्ष आचार्य


३ पुष २०८२, बिहीबार १९:५१ मा प्रकाशित

कपिलवस्तु, ३ पुस । पत्रकारितामा देखिँदै आएका अधिकांश समस्या पत्रकार आचारसंहिताको पूर्ण पालना गरे स्वतः समाधान हुने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको समन्वयमा तौलिहवास्थित महासंघको शाखा कार्यालयमा आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले समाचार संप्रेषणमा विवेक र जिम्मेवारी अपनाए आचारसंहिता पालनको वातावरण आफैं तयार हुने बताएका हुन् ।

अध्यक्ष आचार्यले पत्रकारितामा समानुभूतिको नीति कार्यान्वयन गरिए गलत सूचना तथा भ्रामक समाचार प्रसारण नहुने उल्लेख गर्दै आचारसंहिता पालना गर्ने पत्रकारको संरक्षण गर्नु काउन्सिलको दायित्व रहेको बताए । उनले पत्रकारले नियम र आचारसंहिता पालना गरे काउन्सिलले उनीहरूको सुरक्षाका लागि पूर्ण भूमिका खेल्ने स्पष्ट पारे । आफू सरकारद्वारा नियुक्त भए पनि स्वतन्त्र, निष्पक्ष र पक्षपातरहित रूपमा काम गरिरहेको दाबी समेत गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले प्रविधिको तीव्र विकास र मिडियाको आयाम विस्तारसँगै आचारसंहिता पालन थप चुनौतीपूर्ण बन्दै गएको बताए । उनले सबै पत्रकार र सञ्चार माध्यम आचारसंहिता पालनप्रति अझ संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सञ्चार माध्यम सञ्चालनका स्रोतहरू खुम्चिँदै जाँदा मिडिया क्षेत्र धरासायी हुने अवस्थामा पुगेको बताए । उनले मिडिया लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै त्यसलाई बचाउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिए ।

प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहोराले पत्रकार आचारसंहिता पालनको वर्तमान अवस्था, पत्रकार र सञ्चार माध्यमको भूमिका तथा आचारसंहिता कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए ।

छलफलका क्रममा सहभागी पत्रकारहरूले सामुदायिक रेडियोले संगीत रोयल्टीका नाममा ठूलो रकम तिर्नु परेको, पत्रिका वर्गीकरणमा तह नबढाइएको, अनलाइन माध्यम सूचीकरणमा काउन्सिलको भूमिका स्पष्ट नभएको तथा केही अनलाइन माध्यमबाट साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने सामग्री प्रकाशन–प्रसारण हुँदा पनि प्रभावकारी नियमन हुन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण प्रसाद पौडेल, शाखा सल्लाहकार पार्वती पाण्डे, बुद्धदर्पणका व्यवस्थापक लक्ष्मण बेल्बासे, शाखा उपाध्यक्ष खगप्रसाद चापागाईं, सचिव शनिउल्लाह धोबी, मोहन बेल्वासे, कृष्ण पौडेल तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर भूपाल थापालगायतले जिल्लामा आचारसंहिता पालनको अवस्था र पत्रकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वागत मन्तव्य दिएका थिए भने सचिव शनिउल्लाह धोबीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्