लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयवासीले सरकारी गाडी सञ्चालनमा रोक लगाएका छन् । अमेरिकाको एमसीसी परियोजनाअन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने माग गर्दै स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका हुन् ।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले माग सम्बोधन नभएसम्म आज पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चल्न नदिने बताए ।
शाहीको नेतृत्वमा केही युवाहरू लुम्बिनी प्रदेश राजधानी गेट तथा राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्रको मुख्य प्रवेशद्वारमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा पर्ने धानखोला–लमही सडकखण्डमा एमसीसी परियोजनाअन्तर्गत एमसीए नेपालले साविकको ७ मिटर चौडा सडकलाई दायाँ–बायाँ २.५/२.५ मिटर थप गरी जम्मा १२ मिटर चौडाइमा सीमित राख्दै उही दुई लेनको सडक निर्माण गर्न खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।
यसअघि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट स्थानीय संघर्ष समितिका प्रतिनिधिसहित काठमाडौं पुगेर भौतिक पूर्वाधार, यातायात तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधनका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
तर एमसीसी परियोजनाअनुसार नै काम अघि बढ्ने भएकाले स्थानीयको मागअनुसार परिवर्तन गर्न नसकिने जवाफ घिसिङले दिएको जनाइएको छ ।

