रास्वपा विवादको असर पत्रकारितामा, कपिलवस्तुमा प्रेस संगठनहरू एकजुट


पालिका पत्र

२२ पुष २०८२, मंगलवार १९:३४ मा प्रकाशित

कपिलवस्तु । समाचार प्रसारणकै क्रममा सामुदायिक रेडियो प्रसारक संघ, लुम्बिनी प्रदेशका सचिव गणेश पोखरेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघले गम्भीर आपत्ति जनाएको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै समाचारप्रति असहमति वा गुनासो भए त्यसको समाधान कानुनी तथा प्रचलित विधिमार्फत खोजिनुपर्ने स्पष्ट उल्लेख गर्दै पत्रकारलाई धम्क्याउने, डर देखाउने र आक्रमणको चेतावनी दिने कार्य अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको जनाएको छ।

संघले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि हुने यस्ता गतिविधि कुनै हालतमा स्वीकार्य नहुने भन्दै सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरिएको अकोराव (सामुदायिक रेडियो प्रसारक संघ) लुम्बिनी प्रदेश अध्यक्ष नविन केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

यसैबीच नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले पनि अनलाइन समाचारकै आधारमा युनियनका उपाध्यक्षमाथि सामाजिक सञ्जालमार्फत धम्की आएको भन्दै कडा आपत्ति जनाएको छ। पत्रकारमाथि हुने धम्की, दबाब र मानसिक आतंक प्रेस स्वतन्त्रताविरुद्धको गम्भीर अपराध भएको ठहर गर्दै दोषीमाथि तुरुन्त कानुनी कारबाहीको माग नेपाल प्रेस युनियन कपिलवस्तुका सचिव अंकुश कुमार श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा गरिएको छ।

घटना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका संगठन विभाग प्रमुख रिखिराम भट्टराईले पार्टीको नीति–नियमविपरीत अभिव्यक्ति दिएको र सामाजिक सञ्जालमार्फत पार्टीको नाम दुरुपयोग गरेको भन्दै पार्टीले स्पष्टीकरण सोधेको विषयसँग जोडिएको छ। यही विषयलाई लिएर विवाद चर्कँदै जाँदा रास्वपा कपिलवस्तुका जिल्ला सभापति शिवकुमार सुवेदीले पार्टीका नेतामाथि ‘नालायक’ भन्दै गाली–बेइज्जती गरेको अडियो सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो।

उक्त अडियो हाम्रो पाइला अनलाइनले प्रकाशन गरेको थियो। सो अडियो हाम्रो पाइला अनलाइनका प्रधान सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका सचिव, नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका उप–सभापति तथा सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोखरेलले अनलाइनमार्फत प्रसारण गरेका थिए।

पत्रकार पोखरेलले आफूमाथि चरित्र हत्या गरिएको भन्दै कानुनी उपचारको बाटो अपनाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्