कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले जिल्ला संगठन विभागको जिम्मेवारी पाएका रिखिराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। पार्टी अनुशासन विपरीत आचरण देखाएको आरोप लगाउँदै भट्टराईमाथि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला समितिले जनाएको छ।
रास्वपा कपिलवस्तुका जिल्ला सभापति शिवकुमार सुवेदीका अनुसार भट्टराईले फोन संवादकै क्रममा आफूलाई लक्षित गर्दै अभद्र, अशोभनीय र अमर्यादित शब्द प्रयोग गरेका थिए। वार्ताको सुरुवातमै भट्टराईले सुवेदीलाई ‘मुर्दार’, ‘झल्लु’ र ‘नालायक’ जस्ता शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोप लगाइएको छ।
पार्टी स्रोतका अनुसार सामाजिक सञ्जालमा फलोअर्सको संख्या धेरै भएको आधारमा भट्टराईलाई संगठन विभागको जिम्मेवारी दिइएको थियो। तर पछिल्लो समय उनका गतिविधि उग्र, असन्तुलित र पार्टीको हितविपरीत देखिएको भन्दै जिल्ला समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
रास्वपा कपिलवस्तुले पार्टीमा अनुशासन, मर्यादा र नेतृत्वप्रति सम्मान अनिवार्य रहेको स्पष्ट पार्दै भट्टराईको व्यवहार अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए थप कडा कारबाही हुने संकेतसमेत पार्टीले दिएको छ।


