कपिलवस्तु, १६ माघ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी (तारा) चिन्ह) बाट उम्मेदवारी दर्ता गरेका कृष्ण बहादुर कुवँरले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा उनले गाउँ–गाउँ र टोल–टोलमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै आम मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका हुन् ।
कुवँरले विभिन्न स्थानमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा सहभागी हुँदै आफू उम्मेदवार भए पनि वास्तविक उम्मेदवार जनता नै भएको धारणा राखेका छन् । “म मात्र प्रतिनिधि हुँ, चुनाव लड्ने र जित्ने भनेका जनता नै हुन्,” उनले भने । उनले निर्वाचनलाई व्यक्तिको होइन, नीति, विचार र जनअपेक्षाको प्रतिस्पर्धा हुनुपर्ने बताए ।
कपिलवस्तु–१ का मतदातासँग प्रत्यक्ष अपिल गर्दै कुवँरले विकास, सुशासन र जवाफदेहितालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको स्पष्ट पारेका छन् । विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, युवाका लागि रोजगारी सिर्जना तथा आधारभूत पूर्वाधार विकासमा आफूले प्राथमिकता दिने उनको भनाइ छ । उनले युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने र कृषिमा आधुनिकीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजनाबारे पनि मतदातासँग छलफल गरेका छन् ।
विगतमा घोषणा गरिएका धेरै विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको उल्लेख गर्दै कुवँरले अब परिवर्तनको समय आएको बताएका छन् । “अब भाषणले होइन, कामले विश्वास जित्नुपर्छ। जनता परिणाम खोजिरहेका छन्,” उनले भने, “निर्वाचित भएमा हरेक निर्णय र काममा पारदर्शिता र जवाफदेहितालाई अनिवार्य बनाइनेछ।”
मतदाता भेटघाटका क्रममा स्थानीयवासीहरूले सडक, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारलगायत विभिन्न समस्या र सुझावहरू राखेका छन् । कुवँरले ती सुझावहरूलाई नीति तथा कार्यक्रम निर्माणको आधार बनाउने प्रतिबद्धता जनाएका छन् ।
राजनीतिमा नयाँ सोच, इमानदारी र ऊर्जाको आवश्यकता रहेको उल्लेख गर्दै कुवँरले युवाहरू, महिला तथा पिछडिएका समुदायको आवाज संसदमा सशक्त रूपमा उठाउने दाबी गरेका छन् । “कपिलवस्तु–१ लाई विकास र सुशासनको नमुना निर्वाचन क्षेत्र बनाउने मेरो लक्ष्य हो,” उनले बताए ।
कुवँरको सक्रियता र निरन्तर मतदाता भेटघाटले कपिलवस्तु–१ को राजनीतिक माहोललाई थप चलायमान बनाएको छ । आगामी दिनमा उनको अभियानले कस्तो जनसमर्थन प्राप्त गर्नेछ भन्ने विषयमा स्थानीयस्तरमा चासो बढ्दै गएको छ ।

