पुराना अनुहारप्रति मतदाता आक्रोशित, कुँवरमाथि भरोसा

नयाँ र पुराना नेताबीच हेभीवेट भिडन्त हुने पक्का


पालिका पत्र

२१ माघ २०८२, मंगलवार १६:१५ मा प्रकाशित

चन्द्रकान्त न्यौपाने, जितपुर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक हेभीवेट भिडन्त हुने निश्चित देखिएको छ ।

नेपाली काँग्रेसबाट दुई पटक सांसद भइसकेका अतहर कमाल मुसलमान, नेकपा एमालेबाट संविधानसभा सदस्य भइसकेका विश्राम प्रसाद थारु, काँग्रेसका बागी उम्मेदवार आशिष शर्मा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कृष्ण बहादुर कुँवर तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता मोहन आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

यससँगै राष्ट्रिय जनमोर्चाबाट माधव भाट क्षेत्री र मधेशवादीसहित अन्य साना दलका उम्मेदवारहरू पनि मैदानमा रहेका छन्। यद्यपि मुख्य प्रतिस्पर्धा एमाले, काँग्रेस, नेकपा, रास्वपा र स्वतन्त्र उम्मेदवारबीचमै सीमित देखिन्छ। यसरी हेर्दा क्षेत्र नम्बर १ मा नयाँ र पुराना नेताबीच हेभीवेट भिडन्त हुने पक्का भएको छ ।

यो भिडन्तले सबैभन्दा बढी तनावमा एमाले र काँग्रेस देखिएका छन् । एमालेले अघिल्लो जितको साख जोगाउने चुनौती सामना गरिरहेको छ भने काँग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानलाई यसअघि दुई पटकसम्म जितेको प्रभाव पुनः स्थापित गर्न कठिन देखिएको छ । यी दुवैका लागि मुख्य चुनौती बनेका छन्—नेकपाका उम्मेदवार कृष्ण बहादुर कुँवर ।

यद्यपि स्वतन्त्र उम्मेदवार आशिष शर्मा र रास्वपाका मोहन आचार्य पनि संसदीय अनुभव बोकेका कमाल र थारुका लागि तगारो बन्ने निश्चित देखिन्छ । काँग्रेस र एमालेको तुलनामा नेकपाको सांगठनिक धरातल कमजोर देखिए पनि कुँवरको उम्मेदवारीले कमाल र थारुलाई हैरान बनाएको छ । पटक–पटक चुनाव जितेर पनि ठोस उपलब्धि देखाउन नसकेको आरोप खेपिरहेका यी दुई नेताका लागि कुँवरको प्रभावशाली राजनीतिक र सामाजिक व्यक्तित्व नै मुख्य चुनौती बनेको विश्लेषण गरिएको छ ।

कुनै लाभको पदमा नरही समाजको अग्रमोर्चामा रहेर योगदान दिँदै आएका कुँवरको चरित्र नै कमाल र थारुका लागि बाधक बन्न सक्ने आंकलन छ । सामाजिक व्यक्तित्व मात्र नभई चुनावी अंकगणित बुझ्ने कुशल खेलाडीका रूपमा पनि कुँवर चिनिन्छन् । २०७४ सालमा एमाले–माओवादी एकताबाट बनेको नेकपाबाट माओवादी नेता चक्रपाणी खनाल ‘बलदेव’लाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने पात्रमध्ये कुँवर पनि एक हुन् ।

बाहिर खासै चर्चामा नआए पनि कुँवर राजनीति भित्रका खेलाडी भएको कुरा धेरैलाई थाहा छ । २०७९ को स्थानीय तह निर्वाचनमा बाणगंगा नगरपालिकाको मेयर पदमा एमालेका चक्रपाणी अर्याललाई जिताउन भूमिका खेलेका कुँवरले, एमाले–काँग्रेसको आधार क्षेत्र मानिने बाणगंगाको वडा नम्बर ३ मा माओवादीका टेकबहादुर झेँडीलाई जिताएर आफ्नो चुनावी क्षमता प्रमाणित गरेका थिए। यही कारण धेरै एमाले नेता–कार्यकर्ता कुँवरसँग त्रास मान्ने गरेको बताइन्छ ।

अधिकांश एमालेका नेता–कार्यकर्ता कुँवरका नजिकका मित्र भएकाले विश्राम थारुलाई थप दबाब परेको देखिन्छ । यही अवस्था काँग्रेसका अतहर कमालको पनि छ। कुँवरले विगतमा काँग्रेसका विभिन्न संघ–संस्था र व्यक्तिलाई सहयोग गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसका मंगलप्रसाद थारुलाई बाणगंगा नगरपालिकाको मेयर बनाउन समेत कुँवरको ठूलो योगदान रहेको बताइन्छ ।

काँग्रेसभित्रै आन्तरिक संघर्ष र आशिष शर्माको स्वतन्त्र उम्मेदवारीले दबाबमा रहेका कमाललाई नेकपाबाट कुँवर उम्मेदवार बनेपछि थप कठिनाइ परेको छ । मधेश क्षेत्रमा कमालको पहिलेको प्रभाव कमजोर हुँदै गएको देखिन्छ । चुनाव जितेर पनि ठोस काम गर्न नसकेको, धर्मको भावनामा आधारित राजनीति गरेको र सीमित वर्गमा मात्र केन्द्रित भएको आरोपका कारण मधेशमा काँग्रेसको माहोल बिग्रँदै गएको विश्लेषण गरिएको छ ।

बाणगंगा मात्र नभई कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा पनि एमालेका थारु र काँग्रेसका कमालप्रति जनसमर्थन घट्दो देखिन्छ । २०७९ पछि मन्त्री बनेका एमाले नेता बलराम अधिकारी विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएपछि मधेशमा एमालेप्रति आक्रोश चुलिएको स्थानीयको भनाइ छ ।

अर्कोतर्फ मधेश क्षेत्रमा नेकपा एसका युवा नेता फैजल खानलाई नेकपाले चुनावी कमाण्डर तोकेपछि कुँवरलाई थप सहज भएको देखिन्छ। दक्षिणका तीनवटै पालिकामा फैजल खानको प्रभाव बलियो रहेको बताइन्छ, जसका कारण कमाल थप दबाबमा परेका छन् । प्रारम्भिक घरदैलो अभियानले कुँवर बलियो अवस्थामा देखिएको आंकलन गरिएको छ ।

सामाजिक र सहयोगी व्यक्तित्वका कारण पनि कुँवर कमाल र थारुका लागि भारी बनेका छन् । निस्वार्थ रूपमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएका कुँवरलाई जिताउन मतदातामा उत्साह देखिन्छ । चुनाव जितेपछि सरकारी तलब–भत्ता नलिने घोषणा पनि मतदातामाझ सकारात्मक रूपमा हेरिएको छ ।

“अब मलाई कमाउनु छैन, मैले भनेको दिने नै हो—चुनावअघि पनि दिएको छु, चुनावपछि पनि दिनेछु,” कुँवर भन्छन्।
उनले आगामी पाँच वर्षमा विगत २० वर्षमा नभएका काम गरेर देखाउने दाबी पनि गरेका छन् ।

चुनावी सरगर्मी बढ्दै जाँदा घरदैलोमा कमजोर ठानिएका कुँवरको बढ्दो क्रेज देखेर कमाल र थारु आत्तिन थालेको स्थानीय बताउँछन् । चुनाव जितेपछि जनतासँग सम्पर्क नराखेको आरोप खेपिरहेका पुराना नेताप्रति मतदाता आक्रोशित देखिँदा, कुँवरमाथि भरोसा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्