एउटै भरोसाको नाम, कामले चिनिएको नेतृत्व ‘कृष्ण कुँवर’


पालिका पत्र

२२ माघ २०८२, बुधबार ११:४७ मा प्रकाशित

चन्द्रकान्त न्यौपाने, जितपुर ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अहिले केवल एउटा निर्वाचन क्षेत्र होइन, यो बदलिँदो नेपाली राजनीतिक चेतनाको प्रतीक बन्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा यहाँको चुनावी माहोल केवल प्रचार–प्रसारमा सीमित छैन, यो जनताले खोजेको नयाँ नेतृत्व विरुद्ध पुरानो अभ्यास बीचको निर्णायक बहस बनेको छ ।

यस क्षेत्रको चुनावलाई यसपटक सबैले विशेष चासोका साथ हेरिरहेका छन् । कारण स्पष्ट छ-पुराना अनुहारहरू र नयाँ अनुहारहरूबीचको सीधा भिडन्त । नेपाली काँग्रेसबाट दुई पटक सांसद भइसकेका अतहर कमाल मुसलमान, नेकपा एमालेबाट संविधानसभा सदस्य रहिसकेका विश्राम प्रसाद थारु, काँग्रेसका बागी उम्मेदवार आशिष शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता मोहन आचार्य र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कृष्ण बहादुर कुँवर चुनावी मैदानमा छन् ।

तर यो भिडन्त संख्या र संगठनको मात्र होइन, विश्वास, काम र चरित्रको प्रतिस्पर्धा हो ।

पुरानो राजनीतिप्रति बढ्दो असन्तोष

स्थानीय मतदाताको मनोविज्ञान स्पष्ट छ, ‘अब भाषण र आश्वासनभन्दा माथि उठेर काम गरेको नेतृत्व जनतालाई चाहिएको छ ।’ यसअघि यही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेका नेताहरू विभिन्न विवाद र भ्रष्टाचारजन्य आरोपमा मुछिएपछि जनतामा गहिरो निराशा पैदा भएको छ । त्यसको प्रत्यक्ष असर अहिलेका परम्परागत उम्मेदवारहरूले भोगिरहेका छन् ।

विश्राम थारु र अतहर कमाल मुसलमानजस्ता अनुभवी नेता भए पनि उनीहरू पुरानै शैली र पुरानै राजनीतिक संस्कारको प्रतिनिधि ठानिन थालेका छन् । संगठन बलियो भए पनि जनभावना कमजोर देखिन्छ । यही खाली ठाउँमा नयाँ अनुहारहरू उदाउँदै छन्ज-समा सबैभन्दा सशक्त रूपमा देखिएको नाम हो ;कृष्ण बहादुर कुँवर; ।

कृष्ण कुँवर : चुनावअघि पनि जनताको साथमा

कृष्ण कुँवर चुनावका बेला मात्र देखिने नेता होइनन्, उनी चुनाव नहुँदा पनि गाउँ–बस्ती, विद्यालय, अस्पताल, खेलमैदान र मठ–मस्जिदमा भेटिन्छन् । बाणगंगा नगरपालिका–४, गजेहडाका स्थायी बासिन्दा कुँवरलाई कपिलवस्तुमा ‘नेता’ भन्दा बढी ‘साझा व्यक्ति’को रूपमा चिनिन्छ ।

व्यवसायी पृष्ठभूमिका कुँवरले आफूले आर्जन गरेको सम्पत्ति व्यक्तिगत सुख–सुविधाभन्दा समुदायमा लगानी गरेका छन् । शिक्षा, स्वास्थ्य, सञ्चार, खेलकुद, पर्यटन, कृषि र सामाजिक सेवामा उनको योगदान केवल कागजमा होइन, प्रत्यक्ष देखिने खालको छ ।

शिक्षाबाट समाज बदल्ने सपना

“शिक्षा बिना परिवर्तन सम्भव छैन”-यो कुँवरको मूल दर्शन हो । यही सोचका कारण उनी बाणगंगा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बने । उनले सो विद्यालयमा १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा मात्र गरेनन्, त्यसको सुरुआतस्वरूप १० लाख रुपैयाँ जम्मा गरिसकेका छन् ।

पिपरास्थित जनता माध्यमिक विद्यालयलाई विज्ञान क्याम्पस बनाउने अभियानदेखि लिएर अन्य विद्यालयहरूमा व्यक्तिगत लगानी गरेर उनले आफ्नो परिचय दिइसकेका छन् । उनको राजनीति नाराको होइन, नीतिको हो भन्ने यिनै कामबाट प्रमाणित हुन्छ ।

स्वास्थ्य, खेलकुद र सामाजिक सद्भावमा निरन्तर योगदान

कपिलवस्तु सामुदायिक अस्पताल निर्माण, स्वास्थ्य शिविर सञ्चालन, धार्मिक स्थल संरक्षण, मन्दिर–मस्जिदमा सहयोग-यी सबै कार्यले कुँवरको पहिचान समावेशी समाजको पक्षधर नेताका रूपमा बनाएको छ ।

युवालाई अपराध र निराशाबाट जोगाउन खेलकुद आवश्यक ठान्ने कुँवरले भलिबल, फुटबल, क्रिकेट प्रतियोगिता सञ्चालनमा निरन्तर सहयोग गर्दै आएका छन्। बाणगंगाको छाडा चौपाया समस्या समाधानका लागि गौशाला निर्माणमा लाखौँ रुपैयाँ सहयोग गर्नु उनको सामाजिक जिम्मेवारीको अर्को उदाहरण हो।

विकासका साना तर प्रभावकारी काम

गाउँका साना बाटाघाटा, नाली, कुलो, कल्भर्ट, बत्ती जडान, किसानका लागि ट्युबवेल र धारा-यी कामहरू कुनै ठूलो भाषणमा सुनिँदैनन्, तर जनताको दैनिकीमा प्रत्यक्ष असर गर्छन् । विगत एक दशकदेखि यी काममा निरन्तर सक्रिय रहेकाले कुँवरप्रतिको भरोसा आज चुनावी मुद्दा बनेको छ ।

संसद जान चाहनुको कारण

“व्यक्तिगत सहयोगले जनताको सबै आवश्यकता पूरा हुँदैन,” कुँवर भन्छन्, “त्यसैले अब कानुन बनाउने थलोमै पुगेर काम गर्नुपर्छ भन्ने महसुस भयो।”

सुकुम्बासी समस्या समाधानदेखि शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गर्न कानुनी सुधार आवश्यक रहेको उनको बुझाइ छ । सञ्चार क्षेत्रलाई बलियो बनाउन उनले सामुदायिक रेडियो ‘मायादेवी एफएम १०६.१’ सञ्चालनमा ल्याएका छन् र रेडियोको स्थायित्वका लागि १० धुर जग्गा दान गर्ने घोषणा गरिसकेका छन् ।

किन कृष्ण कुँवर ?

कपिलवस्तु–१ का मतदाताले आज एउटै प्रश्न गरिरहेका छन्- “हिजो जसले केही गरेन, उसलाई फेरि किन मौका दिने?”

यही प्रश्नको उत्तर बनेका छन् कृष्ण कुँवर। संगठन सानो भए पनि व्यक्तित्व ठूलो, पदमा नहुँदा पनि सेवा गरेको, आफ्नो होइन, समाजको सोच्ने नेतृत्व।

यही कारण कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा कृष्ण बहादुर कुँवर आज केवल उम्मेदवार होइनन्—एक भरोसाको नाम बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्