अरु नेता पुग्दा आक्रोशित मतदाताबाट कुँवर पुग्दा ‘आत्मिय स्वागत’


२३ माघ २०८२, बिहीबार १७:२७ मा प्रकाशित

जितपुर । फागुन २१ गतेको निर्वाचन मिति नजिकिँदै गर्दा कपिलवस्तुमा चुनावी सरगर्मी बढ्दो छ । तीनवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कसले बाजी मार्ला भन्ने कुरा अझै निश्चित छैन । नयाँ र पुराना दलहरूले आ–आफ्नो जितको दाबी गर्दै घरदैलो अभियान तीव्र बनाएका छन् ।

तर, कपिलवस्तुमा चुनाव जितेपछि पुनः जनताको घर नर्फने, चुनावी वाचा पूरा नगर्ने नेताको प्रवृत्तिका कारण मतदातामा खासै उत्साह देखिँदैन । विशेषगरी पुराना दल—नेपाली कांग्रेस, एमाले र नेकपा (नेपाली कम्युनिष्ट पार्टी)प्रति कपिलवस्तुका मतदातामा उच्च वितृष्णा देखिन्छ । यी पार्टीका नेता भन्नेबित्तिकै धेरैको मुख खुम्चिने अवस्था छ ।

यद्यपि, केही उम्मेदवारलाई भने मतदाताले पार्टीभन्दा माथि राखेर हेर्ने गरेका छन्। त्यही सूचीको शीर्ष स्थानमा पर्छन् तारा चुनाव चिह्नबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका वरिष्ठ समाजसेवी कृष्ण बहादुर कुँवर ।

चुनावी घरदैलोका क्रममा अन्य नेता आए ‘लखेट्छौँ’ भन्ने मतदाताले कुँवर घरदैलोमा पुग्दा भने हृदयदेखि नै स्वागत गर्ने गरेका छन् । यस्तै दृश्य बुधबार बाणगंगा नगरपालिका–१ मा देखियो ।

घरदैलोका क्रममा एक जना वृद्ध मतदाताले भने, “यदि नेकपाले कृष्ण कुँवरको सट्टा पुरानै अयोग्य उम्मेदवार उठाएको भए हामी लखेट्थ्यौँ । प्रचण्डहरूले पनि खासै केही गर्न सकेनन्, उनीहरू पनि भ्रष्टाचारमै लिप्त भए ।”

त्यही क्रममा सँगै रहेका एक पत्रकारले ती मतदातासँग प्रश्न गरे, “एमाले, कांग्रेस र प्रचण्डनिकट नेकपामध्ये कुन पार्टी राम्रो लाग्छ ?”

मतदाताले जवाफ दिए, “राम्रो भनेर सोध्नुहुन्छ भने यी तीनमध्ये अलिकति ठीक त प्रचण्डकै पार्टी लाग्छ । अहिले अलिअलि सुधार गर्न खोजिरहेको देखिन्छ । ओली र देउवाले त आफ्ना पार्टी नै सखाप पारिसके । ओलीपछि लागेर देउवाले पनि कांग्रेस बिगार्न थालेका थिए, गगन बाबुले आएर अलिकति श्वास भर्ने काम गरेका छन् ।”

पत्रकारले थप सोधे, “ओली, देउवा र प्रचण्डमध्ये कुन नेता राम्रो ?” उनले भने, “अलिकति राम्रो त प्रचण्ड नै लाग्छन्, तर उनले पनि भनेजस्तो गरेनन् । नरिसाउनु है कुँवर बाबु ।”

त्यसमा प्रतिक्रिया दिँदै उम्मेदवार कुँवरले भने, “किन रिसाउनु बुबा, तपाईंले भन्नुभएको सही हो। पार्टी र झुटा नेताका कारण हाम्रो जिल्ला पछाडि परेको हो ।”

बुबालाई अंकमाल गर्दै कुँवरले थपे, “त्यसैले त म पार्टीभन्दा अलग भएर तारा चिन्ह लिएर आएको हुँ । भोट दिनुहोला । मेरा कमजोरी देखिए सुझाव दिनुहोस्, तर एकपटक पार्टीभन्दा माथि उठेर तारा चिन्हमा भोट दिनुहोस् ।”

संवादकै क्रममा बुबाले भने, “तिमी जस्तो मान्छेलाई भोट नदिएर कसलाई दिने? समानुपातिकमा घण्टीलाई भोट दिन्छु, तर प्रत्यक्षमा तिमीलाई नै । नचिनेकालाई कसरी भोट दिने ? तिमी पनि चुनावपछि नआउने त होइनौ ?”

कुँवरले जवाफ दिए, “बुबा, म चुनावअघि पनि यही समाजमा आएको मान्छे हुँ । चुनाव जिते पनि हारे पनि तपाईंहरूकै बीचमा रहनेछु ।”

बुबाले थपे, “तिमीले समाजलाई धेरै योगदान दिएका छौ । स्कुलमा करोडौँको अक्षयकोष बनाएको सुनिएको छ। पैसा त सबैले कमाउँछन्, तर समाजका लागि कसले के गर्‍योरु धेरै वर्ष एमाले र कांग्रेसलाई भोट दियौँ, यसपटक तारा चिन्हमा कृष्ण बाबुलाई भोट पक्का भयो। तर चुनाव जितेर मान्छे बिग्रन्छन् भन्छन्, तिमी पनि त्यस्तै त हुने होइन ?”

यसमा कुँवरले भने, “चुनाव जितेर मेरो चरित्र बदलियो भने जनताले दिने जुनसुकै सजाय स्वीकार गर्न तयार छु ।”

त्यसैबेला छेउको घरबाट निस्किएका एक युवाले भने, “बुबा, यसपटक एउटा भोट कुँवर दाजुलाई दिनुपर्छ । उहाँ साँच्चिकै मनकारी मान्छे हुनुहुन्छ । म त प्रत्यक्षमा दाजुलाई नै भोट दिने हो ।”

बाणगंगामा मात्र होइन, कुँवर जहाँ–जहाँ पुग्छन्, त्यहाँ जनताले मनदेखि नै स्वागत गरिरहेका छन् । समाजसेवीको नाम धेरै सुनेको तर आज प्रत्यक्ष भेट्न पाएको भन्दै धेरै मतदाताले खुसीसाथ स्वागत र बिदाइ गर्ने गरेका छन् ।

अरू नेताप्रति आक्रोश र वितृष्णा देखिँदा आफूलाई माया र सम्मान पाउँदा समाजका लागि केही गर्न सकेको अनुभूति भएको कुँवर बताउँछन् । उनले चुनाव जिते पार्टीभन्दा माथि उठेर भ्रष्टाचारमुक्त र इमानदार रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, चुनाव नजिते पनि पहिलेकै झैँ समाजसँग सहकार्य गर्दै बस्ने उनको अठोट छ ।

प्रतिक्रिया दिनुहोस्