कपिलवस्तु–१ मा तारा चिन्हका उम्मेद्वार कुंवरको घोषणा: सेवा सुविधा जनताकै लागि


पालिका पत्र

२४ माघ २०८२, शुक्रबार १९:५३ मा प्रकाशित

जितपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुबाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट तारा चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका कृष्ण बहादुर कुंवरले निर्वाचनमा विजय हासिल भए आफूले पाउने सम्पूर्ण तलब–भत्ता तथा सेवा सुविधालाई जनसेवामा समर्पण गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

चुनावी अभियानका क्रममा मतदातासँगको भेटघाट तथा विभिन्न कार्यक्रममा बोल्दै उम्मेद्वार कुंवरले आफू व्यक्तिगत लाभको पात्र बन्न नचाहेको स्पष्ट पार्दै प्राप्त हुने सम्पूर्ण सुविधा क्षेत्रका जेष्ठ नागरिकको सम्मान, असाहाय तथा दिनदुखीको सहयोग र सबै समुदायका धार्मिक स्थलहरूको मर्मत तथा निर्माणमा खर्च गर्ने घोषणा गर्नु भएको हो ।

त्यसैगरी आर्थिक अवस्था कमजोर रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि विशेष संयन्त्र निर्माण गरी आफूले पाउने सम्पूर्ण सेवा सुविधा रकम सोही संयन्त्रमार्फत लगानी गरिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । शिक्षा, सामाजिक सेवा र धार्मिक सहिष्णुतामार्फत समाज परिवर्तन सम्भव हुने उहाँको भनाइ छ ।

उम्मेद्वार कुंवरले “विज्ञान कहिल्यै पुरानो हुँदैन, समयअनुसार यसको निरन्तर परिमार्जन र विकास आवश्यक हुन्छ” भन्दै सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नु भयो । साथै “बुबा–आमाको सेवा गर्नु हाम्रो कर्तव्य हो, वृद्ध–वृद्धाप्रति सम्मान प्रकट गरौँ” भन्ने सन्देश दिँदै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

समृद्ध कपिलवस्तु निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउँदै उहाँले परिवर्तनका लागि इमानदार नेतृत्व र जनसहभागितामा आधारित राजनीति आवश्यक रहेकोमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्