२० राष्ट्र, ५५ खेल र आठ मैदान: टी–२० विश्वकपको महासंग्राम आजबाट


पालिका पत्र

२५ माघ २०८२, शनिबार ०७:१० मा प्रकाशित

शनिबार, माघ २४, २०८२

भारत र श्रीलंकाको संयुक्त आयोजनामा दशौँ संस्करणको आईसीसी टी–२० विश्वकप आज (शनिबार) बाट औपचारिक रूपमा शुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन दिन तीन खेल आयोजना गरिँदैछन्।

विश्वकपको पहिलो खेल श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदासा स्टेडियममा पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ। त्यस्तै, कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिज र स्कटल्यान्ड तथा मुम्बईको वानखेडे स्टेडियममा आयोजक भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। भारतले यही खेलमार्फत उपाधि रक्षा अभियान सुरु गर्नेछ।

यस संस्करणको विश्वकप राजनीतिक तनावको प्रभावबाट पनि अछुतो रहन सकेन। पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा खेल्न अस्वीकार गरेपछि प्रतियोगिताबाट बाहिरिएको छ। आईसीसीले बंगलादेशको स्थानमा स्कटल्याण्डलाई समावेश गरेको छ।

यो निर्णय आईपीएलमा बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टिमबाट हटाइएपछि चिसिएको भारत–बंगलादेश सम्बन्धसँग जोडिएको विश्लेषण गरिएको छ। यस घटनाले दक्षिण एसियाली क्रिकेटमा राजनीतिले खेलमा पार्ने प्रभावलाई पुनः उजागर गरेको छ।

२० राष्ट्र सहभागी यस विश्वकप करिब एक महिनासम्म, मार्च ८ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल ५५ खेल हुनेछन्। सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ, प्रत्येक समूहमा पाँच टोली रहनेछन्। समूह चरणपछि शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

सुपर आठ चरणमा दुई समूह रहनेछन्, जहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ।

खेलहरू भारतका पाँच शहर—मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदाबाद तथा श्रीलंकाका तीन मैदान—कोलम्बोका आर। प्रेमदासा र एसएससी तथा पल्लेकेलेमा आयोजना हुनेछन्।

फाइनल खेल मार्च ८ मा अहमदाबाद वा कोलम्बोमध्ये एकमा हुनेछ। यदि पाकिस्तान फाइनलमा पुगेमा, उसका खेलहरू श्रीलंकामै आयोजना गरिने व्यवस्था गरिएको छ।

डिफेन्डिङ च्याम्पियन भारतले सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको थियो। घरेलु मैदानमा भारत ऐतिहासिक तेस्रो टी–२० विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।

प्रतिक्रिया दिनुहोस्