काभा लिगमा नेपाल पुलिसको दोस्रो खेलमा झट्का, फुलादसँग ३–० को हार


पालिका पत्र

२५ माघ २०८२, शनिबार ०७:३४ मा प्रकाशित

काठमाण्डौं । माल्दिभ्समा जारी काभा लिग महिला क्लब च्याम्पियनसिपअन्तर्गत नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा पराजय भोगेको छ। आज भएको खेलमा इरानको फुलाद सेपाहाङ स्पोर्ट्स क्लबले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। फुलादले पुलिसलाई २५–१४, २५–१५ र २५–१८ को सेटमा हरायो।

यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। साविक विजेता रहेको पुलिसले उक्त खेलमा ३०–२८, २१–२५, २५–२१ र २५–२३ को सेटमा जित हात पारेको थियो।

काभा क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको नेपाल पुलिस क्लब यसपटक समूह ‘बी’ मा परेको छ। समूह चरणको अन्तिम खेलमा पुलिसले आइतबार आयोजक माल्दिभ्सको हुर्रा सिसीसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ मा माल्दिभ्सको हुम्को क्लब, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एफसी रहेका छन्। राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

उपाधि रक्षालाई लक्षित गर्दै नेपाल पुलिस क्लबले टोलीलाई थप मजबुत बनाएको छ। क्लबले टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी सलिना श्रेष्ठ र सुमित्रा रेग्मी तथा एभरेष्ट क्लबकी मिना सुनारलाई अनुबन्ध गरेको छ। गत वर्ष पनि पुलिसले सुमित्रासँगै एपिएफ क्लबकी सरस्वती चौधरी र निरुता ठगुन्नालाई टोलीमा समेटेको थियो।

प्रतिक्रिया दिनुहोस्