कपिलवस्तु, माघ २४ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाभर नियमित एच.पी.भी. खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियानको पूर्वतयारीस्वरूप जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार एच.पी.भी. खोप अभियान यही माघ २५ गतेदेखि २९ गतेसम्म जिल्लाका सबै पालिकामा एक चरणमा सञ्चालन हुनेछ। अभियान अन्तर्गत जिल्लाभर कुल ८ हजार ३२९ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। जसअनुसार कक्षा ६ मा अध्ययनरत ७ हजार ४५२ छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका ९७७ किशोरीलाई खोप प्रदान गरिनेछ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले कोभिड–१९ अघि खोप कार्यक्रम सञ्चालन चुनौतीपूर्ण भए पनि कोभिडपछि जनचेतना उल्लेख्य रूपमा बढेको बताउनुभयो। उहाँले खोपसम्बन्धी नकारात्मक सूचनाको न्यूनीकरण गर्न सञ्चारकर्मी र स्थानीय समितिहरूसँग सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। “एच.पी.भी. खोप अत्यन्त महँगो भए पनि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ। महिलालाई पाठेघरसम्बन्धी रोगबाट जोगाउन यो अभियान अत्यन्त महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एच.पी.भी. खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताउनुभयो । गत वर्ष जिल्लामा लक्ष्यको ९४ प्रतिशत खोप लगाइएको उल्लेख गर्दै उहाँले यस वर्ष सत प्रतिशत लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
अभियानका लागि जिल्लाभर सरकारी, निजी तथा धार्मिक विद्यालयसहित ३५१ खोप केन्द्र तोकिएको छ। खोप अभियान सञ्चालन गर्न ७ सय २ जना स्वास्थ्यकर्मी र ३५१ जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका मुख्य आधार, खोप कार्यक्रमका चुनौती, पाठेघरको मुखको क्यान्सरको विश्व तथा राष्ट्रिय अवस्था, एच.पी.भी. संक्रमण सर्ने माध्यम र खोपको महत्वबारे जानकारी दिइएको थियो। खोपसम्बन्धी विभिन्न तथ्याङ्कहरूको प्रस्तुति खोप फोकल पर्सन केदारनाथ शाहले गर्नुभएको थियो ।

