परिवारवादले मक्कँदै काँग्रेस कपिलवस्तु, क्षेत्र नम्बर १ मा ढल्न लागेको हो रुख ?


२७ माघ २०८२, सोमबार २०:२९ मा प्रकाशित

जितपुर । केही दिनअघि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर–४, जितपुरस्थित एक चिया पसलअगाडि एउटा दृश्य देखियो, जसले आजको कपिलवस्तु काँग्रेसको यथार्थ चित्रण गर्दछ । एक काँग्रेस कार्यकर्ताले एक वरिष्ठ नेतामाथि आक्रोश पोख्दै भने, “तपाईंहरूको आपसी लडाइँले हाम्रो भविष्य डामाडोल भयो। अहिले काँग्रेसले हार्यो भने आगामी १५ वर्षसम्म यहाँ शिर ठाडो पारेर हिँड्ने आँट हामीले गर्न सक्दैनौँ ।”

उनी यत्तिमै रोकिएनन् । ती वरिष्ठ नेतातर्फ ठाडो औँला देखाउँदै उनले थपे, “यदि यसपटक काँग्रेसले जितेन भने, तपाईंजस्ता गुटको राजनीति गर्नेहरूलाई चार नम्बर चोकमा कालोमोसो दलेर घुमाउने हो । तपाईंहरूको लडाइँले हाम्रो राजनीति सकिन थाल्यो । अब हामी के गरेर बस्ने ?”उनले टिकट वितरण पनि गलत ढंगबाट भएको आरोप लगाए।

“बाणगंगाको अघिल्लो स्थानीय चुनाव पनि यही कारणले हारिएको हो। जिल्लाभर यस्तै हुँदै आएको छ। संगठन बलियो हुँदाहुँदै काँग्रेस हारिरहेको छ । अब यो सह्य हुँदैन—कि सुध्रिनुस्, कि सक्किनुस्,” उनको आक्रोश थियो।

कार्यकर्ताको तीखा शब्द सुनेर वरिष्ठ नेता अक्क–न–बक्क भए। उनले प्रतिवाद गर्दै भने, “के मैले मात्र बिगारेको हुँ ? मेरो पनि राजनीति सक्किएको छ । दोषी तपाईंहरू पनि हुनुहुन्छ ।”

दुवैबीच विवाद बढ्न थालेपछि त्यहाँ उपस्थित अन्यले हस्तक्षेप गरी झगडा थामे । त्यसपछि दुवै आ–आफ्नो बाटो लागे । यो दृश्य कपिलवस्तु काँग्रेसको प्रतिनिधि कथा हो । क्षेत्र नम्बर १ मात्र होइन, क्षेत्र नम्बर २ र ३ मा पनि काँग्रेसभित्र यस्तै आन्तरिक द्वन्द्व देखिन्छ । हरेक निर्वाचनमा आफ्नै कारण पराजय भोग्दै आएको काँग्रेस आज गहिरो संकटमा छ ।

कपिलवस्तु काँग्रेस कमजोर हुनुको मुख्य कारण भनेको दुई परिवारबीचको शक्ति संघर्ष र गुटगत राजनीति हो । अतहर कमाल मुसलमान र दीपकुमार उपाध्याय परिवार वरिपरि घुमेको यो राजनीतिले काँग्रेसलाई इतिहासकै कठिन अवस्थामा पुर्‍याएको कार्यकर्ताहरूको आरोप छ । अहिले तीनवटै निर्वाचन क्षेत्रमा काँग्रेस जोखिममा देखिन्छ ।

विशेषगरी कपिलवस्तु क्षेत्र नम्बर १ सधैं समस्या सिर्जना हुने क्षेत्र बनेको छ । २०८४ मा निर्वाचन हुने अपेक्षासहित पूर्व राजदूत दीपकुमार उपाध्यायका छोरा आशिष शर्मा तयारीसहित अघि बढिरहेका थिए । जेएनजी आन्दोलनपछि निर्वाचन मिति फागुन २१ तय हुने चर्चा चल्दै गर्दा शर्मा गृहजिल्ला आएर सक्रिय भए। युवालाई एकजुट गर्दै विभिन्न कार्यक्रममार्फत उनले संगठन विस्तारमा जोड दिए र सर्वसम्मत टिकट पाउने विश्वास राखे ।

उनी सिफारिसमा पनि परे, तर अन्तिममा टिकट पाएनन्। टिकट अतहर कमाल मुसलमानले पाएपछि शर्मा असन्तुष्ट बने। केही समय दोधारमा रहेपछि उनले युवाहरूको साथमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए। मनोनयनकै क्रममा उनले “आजबाट नेपाली काँग्रेस छोडेको” घोषणा गरेपछि क्षेत्र नम्बर १ मा ठूलो तरंग आयो ।

त्यसयता आशिष शर्माले तीव्र गतिमा चुनावी अभियान सञ्चालन गरिरहेका छन् । उनको सक्रियताले काँग्रेस नेतृत्वलाई तनावमा पारेको छ । टिकट पाएर पनि अतहर कमाल मुसलमान भने बागी उम्मेदवार शर्माको गतिविधिका कारण दबाबमा देखिन्छन् । सीमित युवाबाहेक उनको पक्षमा उल्लेख्य समर्थन देखिँदैन।

यसैबीच, काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान् खाँ, क्षेत्र नम्बर १ ‘क’ का सभापति दुर्गा केसी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्र प्रसाद दुवे, शुद्धोद्धन गाउँपालिका सभापति विसम्भर प्रसाद कुर्मी लगायतका नेता कार्यकर्ताले औपचारिक निर्णय गर्दै स्वतन्त्र उम्मेदवार शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन् । यता उत्तर क्षेत्रका वरिष्ठ नेता डोलकराम घिमिरेले पनि पार्टी छोडेर शर्मालाई सघाउने बताएपछि काँग्रेशका आधिकारिक उम्मेदवार अतहर कमाल ठुलो तनावमा छन् । यसले कमाल–शर्मा संकट अझ गहिरिएको छ ।

क्षेत्र नम्बर २ मा पनि काँग्रेसको अवस्था उस्तै छ । यसअघि काँग्रेसबाट प्रदेश सभा चुनाव लडेका विक्रम थापा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन् । उनको सक्रियताले त्यहाँ घण्टी चिन्हको पकड बलियो बन्दै गएको देखिन्छ ।

पटक पटक निर्वाचन जितेका काङ्ग्रेसका विरेन्द्र कनौडिया एमालेबाट उम्मेद्वार भएपछि क्षेत्र नं. ३ पनि गुम्ने अवस्थमा देखिन्छ । उसो त दिप कुमार उपाध्याय चुनावमा होमिएको समयदेखि नै काङ्ग्रेसको एउटा पक्षले गुटबन्दी गर्दै आएको इतिहास छ । कमाल र उपाध्याय कहिल्यै पनि सिंगो काङ्ग्रेसको साझा उम्मेद्धार हुन सकेनन् । हरेक निर्वाचनमा एकले अर्कालाई असहयोग गर्दै आएका छन् । यसबाट पनि काङ्ग्रेसमा कति परिवारवाद हावी छ भन्ने पुष्टि हुन्छ ।

एक समय कपिलवस्तु नेपाली काँग्रेसको सुरक्षित किल्ला मानिन्थ्यो। स्थानीय तहदेखि संघीय संसदसम्म काँग्रेस उम्मेदवार सहजै जित्ने जिल्लामध्ये कपिलवस्तु पनि पथ्र्यो । तर पछिल्ला तीनवटा निर्वाचन—स्थानीय, प्रदेश र संघीय—ले त्यो पकड कमजोर हुँदै गएको स्पष्ट देखाएका छन् ।

कपिलवस्तुमा आज पनि काँग्रेस संगठनात्मक रूपमा कमजोर छैन । कार्यकर्ता संख्या, भौगोलिक पहुँच र परम्परागत मतदाता कायमै छन् । तर नतिजा भने निरन्तर कमजोर बन्दै गइरहेका छन्। यसको मूल कारण नीतिगत होइन, व्यक्तिगत र पारिवारिक राजनीति हो । टिकट वितरणमा गुट, योगदानभन्दा नजिकपन, योग्यताभन्दा वंश र संगठनभन्दा परिवार हाबी हुँदा नयाँ पुस्ता काँग्रेसबाट टाढिँदै गएको देखिन्छ ।

राजनीतिक विश्लेषकहरू भन्छन्—यदि यही प्रवृत्ति कायम रह्यो भने काँग्रेसले एक चुनाव मात्र होइन, एक पुस्ता नै गुमाउने जोखिम छ । कपिलवस्तुमा काँग्रेस हार्नुको कारण जनताले पार्टी नचाहनु होइन, पार्टीभित्रकै राजनीति जनताले नपचाउनु रहेको शुभचिन्तक भन्छन् । यो यथार्थ स्वीकार नगरेसम्म काँग्रेस हरेक चुनावमा बलियो देखिएर पनि सधैँ हार खाने नियतिमा जाने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्