पुराना उम्मेदवारलाई घरदैलो फेस गर्नै सकस, बाणगंगामा थारु भगाइएको घटना के हो ?


पालिका पत्र

२८ माघ २०८२, मंगलवार १०:३३ मा प्रकाशित

जितपुर । एकपटक परीक्षण भइसकेका तर जनताका लागि ठोस काम गर्न नसकेका पुराना उम्मेदवार बोकेर हिँड्ने पुराना दलका नेताकार्यकर्तालाई जनतासँग प्रत्यक्ष भेट गर्न गाह्रो हुँदै गएको छ । कतिपय अवस्थामा त मत माग्न जाँदा पनि एकपटक सोच्नुपर्ने अवस्था छ । यस्तो संकट मुलुकभर पुराना दल –एमाले, काँग्रेस, नेकपा लगायतका नेताकार्यकर्ताले भोगिरहेका छन् ।

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा पनि कांग्रेस, एमाले र नेकपाले यही नियति भोग्न थालेका छन् । यसमध्ये सबैभन्दा बढी ’संकट एमाले र काँग्रेसलाई परेको देखिन्छ । एकपटक चुनाव जितेर जनताको काम गर्न नसकेका उम्मेदवार बोकेर हिँड्नुपर्दा एमाले काँग्रेसका नेताकार्यकर्तालाई अफ्ट्यारो भएको उनका गतिविधिबाट बुझ्न सकिन्छ । यो अफ्ट्यारोमा सबैभन्दा बढी एमाले परेको छ । जहाँ–जहाँ एमाले मत माग्न जान्छ, त्यहाँ स्थानीयले अनेक प्रश्न उठाउन थालेका छन् । ती प्रश्नहरू मुख्यतः जेएनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकारले गरेको दमन, युवा–विद्यार्थीको मृत्यु तथा मन्त्री बनेका बलराम अधिकारीमाथि लागेको भ्रष्टाचार आरोपसँग सम्बन्धित छन् । “चुनाव जितेर सदन पुगेपछि के भयो ?”, “मन्त्री बनेपछि के काम गरियो ?”, “जेएनजी आन्दोलनमा किन निहत्था युवाको ज्यान गयो ?”, “नेतृत्वलाई किन प्रश्न गर्न हुँदैन ?” जस्ता प्रश्न स्थानीयले एमालेका उम्मेदवार तथा नेताकार्यकर्तालाई सोध्दै आएका छन् ।


यस्तै एउटा घटना सोमबार बाणगंगामा घटेको छ । बाणगंगा नगरपालिका–१, उप्टाहामा क्षेत्र नम्बर १ का उम्मेदवार विश्रामप्रसाद थारुलाई लिएर केही स्थानीयहरू चौपारीमा पुगेका थिए । मत माग्ने क्रममा त्यहाँ केही युवाहरू पनि उपस्थित थिए । उनीहरूले “तपाईंहरू जितेर के गर्नुहुन्छ ?” भन्ने प्रश्न उठाए ।

उम्मेदवार थारुले बाटो, कुलो बनाउने लगायत विकासका कुरा गरे । त्यही क्रममा स्थानीय राजु पाण्डेलगायतले जेएनजी आन्दोलनमा केपी ओली सरकारले गरेको हस्तक्षेप र हत्याको विषय उठाएपछि सवाल–जवाफ सुरु भएको बताइन्छ । बहस यति चर्कियो कि नेताहरू उम्मेदवार थारुलाई त्यहाँबाट फर्काउन बाध्य भए ।


घटनाबारे प्रतिक्रिया दिँदै सवाल–जवाफमा सहभागी राजु पाण्डेले भने, “नेताहरूले गल्ती स्वीकार गर्न खोजेनन् र अझै पनि केपी ओलीको बचाउमै लागेपछि हामीले थप प्रश्न सोध्यौँ । ओलीको आलोचना सुन्दा पनि कुनै पछुतो नदेखिएपछि बहस चर्कियो। हामीले लखेटेका होइनौँ, उहाँहरू आफैँ फर्किनुभयो ।”


उनले थपे, “हामीले केपी ओली खराब छन्, ७२ जनाको मृत्यु उनकै पालामा भयो, कहिलेसम्म ओलीलाई बोकेर हिँड्नुहुन्छ भनेर सोध्यौँ । तर उहाँहरूले ओली खराब छैनन् भन्नुभयो । उम्मेदवारसँग आएका एक जना रिटायर्ड आर्मी अधिकारीले ‘केपी ओलीले मारेका होइनन्, गोली हावाले उडाएर लागेको हो र लागेको हो । ओलीले गोली हान्ने आदेश दिएको भन्ने झुट हो’ भनेपछि युवाहरू आक्रोशित भए ।”

त्यसपछि सवाल–जवाफ झन् चर्किँदै गयो र पाखुरा निमोठानिमोठसम्मको अवस्था आयो । दुवै पक्षका रिटायर्ड सुरक्षाकर्मीबीच भनाभन बढेपछि झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो । अवस्था नियन्त्रणबाहिर जान सक्ने देखेपछि एमालेकै नेताहरूले उम्मेदवार थारुलाई त्यहाँबाट फर्काए ।

पाण्डेले भने, “हामीले कुनै नाजायज प्रश्न सोधेका थिएनौँ । सुध्रनुस्, नेतृत्वको दास नबन्नुस् मात्र भनेका थियौँ । झगडा गर्ने मनसाय थिएन । तर आलोचना सुन्न नचाहने प्रवृत्तिले उहाँहरूलाई नै घाटा पुग्छ । अब एमाले–कांग्रेस भनेर मात्र भोट दिने चेतना सकिएको छ। जितेर उहाँहरूले के गर्नुभयो र ?”

यसै विषयमा एमालेका एक जना नेताले भने, “सामान्य प्रश्न–उत्तर भएको हो । भगाइएको भन्ने कुरा गलत हो । केही समय कुरा सुनेपछि हामी निस्कियौँ। यसलाई ठूलो विषय बनाउनु पर्दैन। जसले जति षड्यन्त्र गरे पनि यसपटक हामी चुनाव जित्छौँ ।”

तर केही स्थानीयले भने एमाले टोली प्रश्न सामना गर्न नसकेर आफैँ फर्किएको बताए । एक जना स्थानीय वृद्धले भने, “प्रश्न सुन्न नसकेर लफडा होला भनेर उहाँहरू फर्कनुभयो। समस्या त्यहाँ आएका सुरक्षाकर्मीका कारण बढेको हो ।”

प्रश्न उठाउने पाण्डेले अब हरेक उम्मेदवारलाई यसरी नै प्रश्न गर्ने बताए । “चुनावको मुखमा चिल्ला कुरा गर्ने उम्मेदवारलाई समयमै चिनिनुपर्छ,” उनले भने ।

उप्टाहा क्षेत्र पछिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका सञ्जु सेनले वडा अध्यक्ष जितेको क्षेत्र हो । एमाले र कांग्रेस दुवैको पकड रहेको मानिने यो क्षेत्रमा सेन हाल जनप्रतिनिधिको जिम्मेवारी छोडेर विदेश गएका छन् । अहिले उक्त वडा जनप्रतिनिधिविहिन बनेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्