जितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्ण कुँवरले आफ्नो चुनावी भेटघाट कार्यक्रम तीव्र पारेका छन्।
बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन र मायादेवी गाउँपालिका अन्तर्गतका ३२ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा कुँवरले घरदैलो तथा प्रत्यक्ष भेटघाट अभियानलाई तीव्र बनाएका हुन्। भेटघाटका क्रममा मतदातामाझ कुँवरप्रति सकारात्मक बुझाइ देखिएको छ।
जहाँ–जहाँ कुँवर पुग्छन्, त्यहाँ मतदाताले आफूले एक सरल र सुन्ने नेता भेटेको अनुभूति सुनाउने गरेका छन्। कतिपय स्थानमा विगतका नेताहरूले पटक–पटक ढाँटेको भन्दै आक्रोश पोख्ने गरेका छन् भने कतिपय ठाउँमा मतदाताले कुँवरसँग समय लिएरै गफ गर्ने गरेका छन्।
भेटघाटका क्रममा मतदाताले प्रश्न उठाउने, आफ्ना दुःख–समस्या सुनाउने गरेका छन्। कुँवर पनि मतदातासँग खुलेर संवाद गर्दै समय बिताउने गर्छन्। उनको यही सरलता र सहज व्यवहारका कारण धेरै मतदाताले आफ्ना समस्या राख्न धक नमानेको देखिन्छ।
धेरै नेताले चुनावताका घर–घर पुगेर सपना बाँड्ने तर चुनावपछि फर्केर नआउने गरेको गुनासो मतदाताले कुँवरसमक्ष राख्ने गरेका छन्। मायादेवी गाउँपालिका–अरौराकोटमा भएको भेटघाटका क्रममा एक महिलाले आफ्नो समाजका लागि नेताहरूले केही नगरेको भन्दै रुँदै गुनासो गरिन्। सो क्रममा कुँवर पनि भावुक बनेका थिए।
उनले आफू अरूले जस्तो झुटको खेती नगर्ने भन्दै एकपटक विश्वास गर्न आग्रह गरे। “नल्का बनाइदिन्छु, बाटो बनाइदिन्छु भनेर भोट मागे, जितायौँ पनि, तर चुनावपछि अनुहारसमेत देख्न पाएनौँ,” ती महिलाले रुँदै भनिन्, “यदि नल्का र नाली बनाइदिनुहुन्छ भने भोट दिन्छौँ।”
मतदाताका कुरा सुनेपछि कुँवरले जनतालाई कानुन निर्माणभन्दा बढी विकास चाहिएको आफूले बुझेको बताए। उनले सदनमा पुगेपछि जनमैत्री कानुन निर्माणका साथै विकासका एजेन्डा पनि सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाए।
जनताले कुँवरबारे धेरै सुनेको र प्रत्यक्ष भेट्न पाउँदा खुसी लागेको प्रतिक्रिया पालिका पत्रसँग दिएका छन्। अन्य नेताहरूले ढाँटेकै कारण आफू इमान्दार हुँदाहुँदै पनि भोट माग्न कठिन भएको कुँवरको भनाइ छ।
कुँवरले यो लडाइँ भ्रष्टाचारी र सदाचारीबीचको लडाइँ भएको उल्लेख गर्दै आफूलाई मत खसाल्न आग्रह गरिरहेका छन्। राजापानीमा युवासँग भएको भेटघाट कार्यक्रममा उनले मत माग्न आउने हरेक उम्मेदवारलाई प्रश्नको कठघरामा उभ्याउनुपर्ने बताएका छन्।

