कपिलवस्तु ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर १ यतिबेला विशेष चासोको केन्द्र बनेको छ । तारा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका समाजसेवी तथा व्यवसायी मो कुँवर स्थानीय स्तरमा प्रभावशाली उम्मेदवारका रूपमा उभिएका छन् ।
बाणगंगा नगरपालिका–४ गजेहडाका स्थायी बासिन्दा कुँवर सामाजिक र राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएका हुन् । उनका दाजु रुद्र बहादुर कुँवर पूर्व गाविस अध्यक्ष रहेका थिए । सानैदेखि सामाजिक सेवा र जनहितका काममा रुचि राख्दै आएका कुँवरले आफूले आर्जन गरेको स्रोत–साधन समुदायमै लगानी गर्दै आएका छन् ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छन् । स्वास्थ्य क्षेत्रमा पनि कुँवरको सक्रियता उल्लेखनीय छ। कपिलवस्तु सामुदायिक अस्पताल निर्माणदेखि लिएर विभिन्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा उनले निरन्तर सहयोग पुर्याएका छन् । धार्मिक सहअस्तित्व र पर्यटन प्रवर्द्धनका लागि मन्दिर तथा मस्जिद संरक्षणमा समेत उनले योगदान दिएका छन् ।
युवालाई खेलकुदतर्फ आकर्षित गर्न रात्री भलिबल, फुटबल र क्रिकेट प्रतियोगिता सञ्चालनमा स्थानीय क्लबहरूलाई सहयोग गर्दै आएका कुँवर पूर्वाधार विकासमा पनि सक्रिय छन् । गौशाला निर्माण, सिँचाइ सुविधा विस्तार, ग्रामीण सडक, नाली, कुलो र विद्युत् विस्तारमा विगत एक दशकदेखि उनको प्रत्यक्ष संलग्नता रहेको स्थानीयवासी बताउँछन् ।
सञ्चार क्षेत्र सुदृढ बनाउन उनले सामुदायिक रेडियो सञ्चालन गरेका छन् । स्थानीय विकास, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका कुँवर गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताउँछन् ।
कुँवरका अनुसार संसद् कानुन निर्माणको थलो भएकाले सुकुम्बासी समस्या समाधान, किसानका लागि सिँचाइ सुविधा र जिल्लाको समग्र विकासका मुद्दा उठाउने उनको प्रतिबद्धता छ । स्थानीय स्तरमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको पृष्ठभूमिका कारण उनी क्षेत्रका बलिया प्रतिस्पर्धीका रूपमा हेरिएका छन् ।


