स्थानीय सीपको संरक्षणसँगै आयआर्जन बढाउने लक्ष्य


पालिका पत्र

३ फाल्गुन २०८२, आईतवार १९:१६ मा प्रकाशित

कपिलवस्तु। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि संकायले कपिलवस्तुको वाणगंगा नगरपालिकामा उत्पादन हुँदै आएका परम्परागत हस्तकला सामग्रीको स्थलगत अध्ययन तथा अभिलेखीकरण गरेको छ। अध्ययनका क्रममा स्थानीय महिला समूह, सहकारी संस्था तथा सामुदायिक वन उपभोक्ता समूहसँग उत्पादन, संरक्षण, आधुनिकीकरण र बजारीकरणका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको हो।

वरिष्ठ प्राविधिक डा. शालिकराम भण्डारीको नेतृत्वमा प्रविधि अधिकृत कविता पाण्डेय, प्रवर्द्धन अधिकृत लिपिका कर्माचार्य तथा प्राविधिकहरू शुभम शाक्य र मनिषा योगी सम्मिलित टोलीले वाणगंगा–११ हथौसास्थित सहकारी र वाणगंगा–२ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहसँग प्रत्यक्ष संवाद गरेको थियो।

नास्टका अनुसार परम्परागत प्रविधिको आधुनिकीकरण कार्यक्रमअन्तर्गत सजावटका सामग्रीको संकलन, उत्पादन प्रक्रिया तथा बिक्री व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको छ। हस्तकलाका सामग्रीको बजार माग बढ्ने सम्भावना रहे पनि मागअनुसार उत्पादन गर्न नसकिएको समस्या स्थानीय सरोकारवालाले औँल्याएका छन्।

श्री नवज्योति महिला बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक जगरानीदेवी चौधरीले मागअनुसार काम उपलब्ध गराउन सके सदस्यहरूलाई नियमितरूपमा उत्पादनमा संलग्न गराउन सकिने बताउनुभयो। सहकारीकी अध्यक्ष तारावन्त कुमारी चौधरीले बुन्ने कच्चा पदार्थ सधैँ उपलब्ध नहुनु मुख्य चुनौती भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार हाल उत्पादन भएका सामग्री गाउँघरमै सीमित रूपमा बिक्री भइरहेका छन् भने बाह्य बजारबाट अपेक्षित माग आउन सकेको छैन। माग सिर्जना भए महिला दिदीबहिनीलाई सक्रिय बनाएर व्यवसायिक उत्पादन विस्तार गर्न सकिने उहाँको भनाइ छ।

उहाँले वर्षमा एकपटक मात्र कच्चा पदार्थ उपलब्ध हुने र उत्पादनमा धेरै श्रम लाग्ने जस्ता समस्या रहेको बताउनुभयो। विभिन्न स्थानमा तालिम दिँदै हस्तकलाका सामग्री उत्पादन र बिक्री गर्दै आएको जानकारी दिँदै उहाँले ढकिया, पेन होल्डर, गमला, हटकेस, कुशन, चकटी, गहना, डस्टबिन र ट्रे लगायतका सामग्रीको माग बढी रहेको बताउनुभयो। साथै थाकलबाट टोपी, ब्याग, गमला र पेन होल्डर जस्ता सामग्री उत्पादन गर्न सकिने जानकारी दिनुभयो।

थारू समुदायका परम्परागत हस्तकला लोप हुने अवस्थाबाट जोगाउन व्यवसायिक उत्पादन सुरु गरिएको उल्लेख गर्दै उहाँले यसले हस्तकलाको संरक्षणसँगै आम्दानीको स्रोतसमेत बढाएको बताउनुभयो।

नास्टका वरिष्ठ प्राविधिक डा. भण्डारीले स्थानीय हस्तकलाको दिगो प्रवर्द्धनका लागि सरकारी नीतिगत व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार कच्चा पदार्थको उपलब्धता, उत्पादन प्रक्रिया र बजार सम्भावनाबारे अध्ययन गरी आगामी दिनमा नास्टले गर्न सक्ने सहयोगका क्षेत्र पहिचान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्