कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका आशिष शर्माले कपिलवस्तुवासीको हितका लागि एक्लै भए पनि संघर्ष गर्ने बताएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै उनले जिल्लाको समग्र विकास र जनताको अधिकारका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए।
भेटघाटका क्रममा शर्माले दलका उम्मेदवारहरूले के गर्छन् भन्ने विषयमा आफूलाई चासो नभएको उल्लेख गर्दै जिल्लावासीका समस्या समाधानमा सधैं तत्पर रहने बताए। उनले जनताको दुःख–सुखमा साथ दिने नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार कपिलवस्तुमा लामो समयदेखि विकास र सुशासनका नाममा जनतालाई आश्वासन मात्रै बाँडिएको छ। अब वास्तविक परिवर्तनका लागि नयाँ सोच, स्पष्ट दृष्टिकोण र इमानदार नेतृत्व अपरिहार्य रहेको उनले बताए। पुरानै अनुहार र कार्यशैलीबाट जनअपेक्षा पूरा हुन नसकेको दाबी गर्दै उनले आफूलाई परिवर्तनको विकल्पका रूपमा प्रस्तुत गरेका छन्।


